-नारायण पौडेल ।
बास बस्न आएका पाहुनालाई बुढी आमैले भनिछन्– कस्तो पृथ्वीनारायणजस्तो, तातो भातको बीचमै हात हालेको, छेउ छेउबाट खानु नि ! हात पोलेर भात खान नसकिरहेका पाहुना स्वंयम् पृथ्वीनारायण नै रहेछन् । त्यसपछि उनले रणनीति परिवर्तन गरेछन्, अनिमात्र नेपाल एकीकरण भएछ ।
समस्या गरिबीमा छ, गरिबमा होइन । उधुम केही मच्चाउन परेको छैन, मात्र विधि स्थापित गरे पुग्छ । मालपोतमा मालपानी बिना काम भैदिएपुग्छ । घुसखोरी बिना अड्डा चले पुग्छ । कामको सम्मान, सर्वसुलभ रोजगारी, समयमै तनखा भए पुग्छ । शिक्षा र स्वाश्थ्य सेवा गुणस्तरीय र सर्वसुलभ भएपुग्छ । सार्वजनिकस्थलमा सफा चर्पी भए पुग्छ । सेवाग्राही मैत्री सरकारी सेवा भए पुग्छ । बिउ बिजन र मलखादको सहज उपलब्धता भए पुग्छ । उत्पादन अनुसारको बजार, तनखाअनुरुपको बजार मूल्य भए पुग्छ । प्रत्येक नागरिकलाई स्वाभीमानसहित जीवन जिउने वातावरण भए पुग्छ ।
यि आधारभूत कुरा पूरा गर्न सुकुम्बासी बस्तीले छेक्दैनन् । यि कुराको ग्यारेण्टी भएका दिन सुकुम्बासी बस्ती पनि हुँदैनन् । भएछन् भने पनि पहिचानका आधारमा सक्कलीलाई हैसियत र नक्कलीलाई नसियत दिन सकिन्छ । यति गर्न यो बलियो सरकारलाई बढीमा एकाध बर्ष लाग्छ । सन्तुलन नमिल्दा धाबक–म्याराथनको, शैली–१०० मिटर दौडको जस्तो देखिएको छ । धुम धडकासहित डोजर चलाउन विजयकुमार गच्छेदारकै गच्छे काफी थियो । उद्यमसहितको विनयशील व्यवस्थापनका लागि बालेनहरु चाहिएको हो ! यि बालेनहरुले लेन बिराए अर्को कोही आउछ, आउछे । संका छैन । तर, ऊ आउँदा के के जल्छ, को को मर्छ– चिन्ता त्यसको हो, बालेनले दिएको ‘ज्ञान’ देखेर जो आउनेछ । संयमित होउ, महाअवसरको सृजनात्मक सदुपयोग गरौं ।
