काठमाडाैँकाे कंकेश्वरीमा १५ फिट लामो बुद्ध मूर्ति स्थापना

काठमाडौं । काठमाडौं महानगरपालिका–१९ कंकेश्वरीमा १५ फिट लामो सिंहशैय्यासन प्रस्तर बुद्ध मूर्ति स्थापना गरिएको छ । २५७०औँ बुद्धजयन्तीको अवसर पारेर शुक्रबार वडाध्यक्ष तथा पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठले मूर्ति सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको मूर्तिलाई करिब ४ फिट अग्लो आसनमा राखिएको छ भने यसको निर्माण लागत करिब २८ लाख रुपैयाँ रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

वडाध्यक्ष श्रेष्ठका अनुसार उक्त स्थानलाई ‘बुद्ध पार्क’ नामकरण गरिएको छ । “पार्कलाई बालबालिका, युवा र ज्येष्ठ नागरिकमैत्री बनाइनेछ । त्यसपछि यसको व्यवस्थापन स्थानीयलाई जिम्मा दिइनेछ,” उनले भने, “निर्माणभन्दा संरक्षण र व्यवस्थापन चुनौतीपूर्ण हुन्छ, त्यसैले सबैले अपनत्व र दायित्व लिन आवश्यक छ ।”

मूर्ति सार्वजनिक गर्नुअघि स्थानीयवासीहरूले वडाभित्रका विभिन्न स्थानमा अस्थिधातु यात्रा गरेका थिए । त्यसपछि नमूना विहारमा पुगेर बुद्धको पूजाआराधना गरिएको थियो ।

स्थानीयस्तरमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस परियोजनाले समुदायमा आध्यात्मिक वातावरण प्रवर्द्धन गर्नुका साथै सार्वजनिक स्थलको सौन्दर्य अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

बुद्धधर्म सम्बन्धी भिडियाेका लागि यहाँ क्लिक गर्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *