काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको खेलमा आज नेपाल र युएई भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजे शुरु हुनेछ ।
आज नेपाल सिरिजमा र युएईविरुद्ध दोस्रो जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । पहिलो खेलमा युएईलाई ३७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग डकवर्थ लुइस पद्दतिको आधारमा १ सय २ रनले पराजित भएको थियो ।
यस सिरिजमा शीर्षक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपालले संघर्ष गरिरहेको छ । ओमानसँगको खेलमा नेपालको दुवै ब्याटिङ र बलिङ कमजोर देखिएको थियो । आजको खेलमा जित निकाल्न नेपालको दुवै पक्ष चल्नु जरुरी रहेको छ ।
यता पहिलो खेलमा पराजित भएको युएई आज नेपाललाई घरेलु मैदानमा स्तब्ध बनाउने लक्ष्यमा रहेको छ । दुई टोलीबीच भएको पछिल्लो १८ भेटमा नेपालले १० खेल जित्दा युएईले ८ खेल जितेको छ । यस्तै टियु मैदानमा भएको ७ खेलमा नेपालले ६ खेल जित्दा युएईले एक खेलमात्र आफ्नो पक्षमा पार्न सकेको छ ।
हाल नेपाल २२ खेलबाट १४ अंक जोड्दै अंकतालिकाको सातौँ स्थानमा रहेको छ । समान खेलबाट १२ अंक जोडेको युएई आठौँ स्थानमा रहेको छ ।
