तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास  । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा सबैजसो स्टल व्यापारिक अर्थात् नाफामुलक प्रयोजनका छन् । तर सोही महोत्सवमा एक युवा, जसले फोटोमार्फत गुल्मी चिनाइरहेका छन् ।

गुल्मीदरबार गाउँपालिकाको चारपाला निवासी दिनेश बस्नेत सानैदेखि फोटोग्राफीमा रुचि राख्थेँ । उनले जिल्लाका धेरै धार्मिक तथा पर्यटकीय स्थलको तस्बिर खिचेका छन् । उनले खिचेका तस्बिर महोत्सवमा प्रदर्शनीका लागि राखेका हुन् ।

उनले महोत्सवको मञ्च अगाडि जिल्लाका विभिन्न स्थानका २० तस्बिर प्रदर्शनीमा राखेका छन् । जसमा गुल्मीको नामकरण भएको गुल्मी चारपाला दरबार, जिल्लाको प्रमुख पर्यटकीयस्थल रेसुङ्गा यज्ञशाला, रेसुङ्गा टावर, रेसुङ्गा महापोखरी, रेसुङ्गाबाट देखिने हिमाल, भुवाने पार्क, तम्घास बजार, विभिन्न ठाउँबाट देखिने हिमशृङ्खला, चरचुङ्गीलगायतका तस्बिर छन् ।

सुरुसुरुमा उनले खिचेका तस्बिर राष्ट्रियस्तरका मिडियामा समेत आइरहेका थिए । त्यो देख्दा उनलाई फोटोग्राफीमा रुचि बढ्न थाल्यो र थप तस्बिर खिच्न थाले । अन्ततः उनका साथी बर्दघाटका राज अधिकारीले महोत्सवमा फोटो प्रदर्शनी गर्ने सल्लाह दिए । उनको सल्लाहअनुसार दिनेशले फोटोमार्फत गुल्मी चिनाइरहेका छन् ।

प्रदर्शनीका लागि उनको व्यक्तिगत ४० हजार रुपैयाँ जति खर्च भएको छ । उनले भने, “पैसाभन्दा पनि गुल्मी चिनाउने मेरो प्रमुख उद्देश्य हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *