भूमिहीनताको समस्याको दिगो समाधानका लागि के गर्ने ?

-डा. जीवन क्षेत्री

जसको लौरो, उसैको भैंसी । बालेन सरकारले सुकुम्बासी बस्तीहरु खाली गर्यो । उसले त्यसो गर्दा के कति विधि मिच्यो, त्यो बहसको एउटा पाटो छँदैछ । म बालेन सरकारलाई आफ्ना कुरा सुनाउने ठाउँमा छैन । नागरिकको हैसियतले अरु नागरिकलाई बुझाउन लाख कोशिस गर्दा पनि नसकेका केही कुरा छन्, फेरि एकपल्ट दोहोर्याउँछु ।

सुरुमा केही फुटकर प्राविधिक कुराः

– जो अन्यत्र जीविकायोग्य सम्पत्ति भएका नक्कली सुकुम्बासी हुन्, तिनको बचाउ कसैले गरेको छैन । ती अहिले नदी किनारबाट उठेपछि अर्को ठाउँमा सहज रुपमा जालान् । एमाले, काँग्रेस र माओवादीका पूर्ववर्ती सरकारहरुले सुकुम्बासी समस्या समाधान गर्न नचाहेको वा नसकेको, त्यो मुद्दालाई राजनीतिक स्वार्थको साधन बनाएको, भुमि आयोगलाई कार्यकर्ता भर्तीकेन्द्र बनाएको, सबै साँचो हो । हामी आमनागरिकले तिनको बचाउ गरेको वा यो सरकारले उनीहरुले जस्तै गरोस् भनेको हैन । केही सुकुम्बासीहरुलाई सरकारले पहिले बनाएका काठमाडौंभित्रकै भवनहरुमा राख्ने तयारी भएको भन्ने समाचारहरु आएका छन् । तर तिनमा पानी अहिलेसम्म जोडेको छैन भन्ने पनि आजकै समाचार छन् । अरु केही नभए पनि पानी त पहिले जोडेर अनि डोजर चलाउन सकिन्थ्यो होला नि ।

अब आयो गाँठी कुराः

तत्कालीन राजपरिषद् स्थायी समितिका अध्यक्ष भुपालमान सिंह कार्कीका सुपुत्र लोकमानसिंह कार्कीले हालासालै वासिङ मेसिनरुपी पोडकास्टमा गएर भनेका छन्ः हाम्रो अथाह पारिवारिक सम्पत्ति छ । कति भने, गणना गरेर सम्झन पनि कठिन । कसरी त भने, ऊबेला सिंगो देशको जमिन राजाको थियो । उनले चाहे २०० बिगा तराईको जमिन कसैलाई बिर्ता दिन सक्थे । कसैलाई सात पुस्तासम्म भुमिहीन नै राखिदिन पनि सक्थे ।

त्यसरी जग्गा पाउनेमा सेना र दरबारसित निकट क्षेत्री, बाहुन र ठकुरीहरुको प्रचण्ड बहुमत रह्यो । त्यसैले दलित र आदिवासी किनारामा परे । तिनमा पनि दलितलाई त राज्यले शताब्दीयौंसम्म जातव्यवस्थाको पैतालामुनि कुल्चियो । सिंगो चितवन कुनै बेला आदिवासीहरुको थियो । मलेरिया उन्मुलनसँगै पहाडबाट बसाइँसराइको लर्को लाग्यो । टोल्स्टोयको कथामा दिनभर घेरेको जति जमिन दौडने मानिसको भए जस्तै यहाँ पनि सके जति जंगल फाँडेर मानिसहरु बसे । कुनै बेला सिंगो भित्री मधेशमा एक्लै बसोबास गरेका आदिवासीहरुमध्ये बोटे र माझीहरुमध्ये धेरै र थारुमध्ये अलि कम केही दशकभित्रै सुकुम्बासीमा दरिए ।
अहिले ’सुकुम्बासी भन्दैमा सार्वजनिक जमिन हडप्न पाइन्छ?’ भनेर बुरुक्क उफ्रने धेरैका बाजेहरुले यसैगरी जमिन ओगटेर बसेका हुन्, अहिले झैं पैसाले किनेर आर्जेका हैनन् ।

त्यसैले भुमिहीनता कुनै प्राविधिक समस्या हैन । ‘गाउँको जमिन छाडेर अवसरका लागि शहरमा छिर्ने र सार्वजनिक जमिन कब्जा गर्ने’जस्तो सतही व्याख्या एकाध प्रतिशतका लागि लागू हुन सक्ला, बहुसंख्यकका लागि हुँदैन । केहीसित अन्यत्र जमिन छ, सुन छ, स्कुटर छन्, त्यसैले सारा सुकुम्बासी नक्कली हुन् भनेजस्ता तर्कको त कुरै नगरौं ।

चुरो कुरा के हो भने भूमिहीनताको जरामा जात व्यवस्था छ । हाम्रा पुर्खा शासकहरुको नांगो नश्लभेद छ । अन्याय छ, विभेद छ । हिंसा र तिरस्कार छ । त्यसैले यो रातारात समाधान हुने समस्या थिएन, हैन । यसको चामत्कारिक समाधान पनि छैन । जुन समस्यालाई पुराना दलले ३५ वर्ष अल्झाए, त्यसलाई एकाध वर्ष लगाएर तर कसैलाई अन्यायमा नपारी समाधान गर्दा कसैले नयाँ सरकारलाई आलोचना गर्ने ठाउँ रहने थिएन । त्यसले बरु बालेन र रास्वपाको जयजयकार नै हुने थियो । भूमिहीनाको समस्याको दिगो समाधान चाहनुहुन्छ भने तपाईँमा आफूलाई भूमिहीनको पाइलामा उभ्याएर तिनको नजरबाट संसार हेर्ने क्षमता चाहिन्छ । भुपालमान सिंह कार्कीको पाइलामा उभिएर हेर्नुभयो भने गडबड त्यहीं सुरु हुन्छ । खास कुरा यो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *