गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी । फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी प्रदेशमा डढेलोका घटना कम भएका छन् । प्रिमनसुन अवधिमा भइरहेको वर्षा र पू र्वसावधानीका कारण डढेकोका घटनामा कमी आएको हो । प्रदेशको वन तथा वातावरण मन्त्रालयका वन अधिकृत तिलकबहादुर थापाले यस वर्ष डढेलोका घटना न्यून देखिएको बताए ।

“यसपालि डढेलोका घटना कम भए, छिटपुट रूपमा लागिहाले पनि वर्षाका कारण डढेलो फैलन पाएन”, उनले भने, “बोटबिरुवाले पालुवा हाल्ने र वन क्षेत्रमा हरियाली छाउन सुरु भएकाले अब डढेलोको जोखिम पनि घट्दै जान्छ ।” सुक्खा याम लम्बिँदा डढेलोका घटना धेरै हुने गरेकामा यसपालि पानी परिरहेकाले त्यस्तो अवस्था नआएको वन अधिकृत थापाले बताउनुभयो ।

विगतको तुलनामा सम्बन्धित सरकारी निकाय, सामुदायिक वन उपभोक्ता समूहलगायत स्थानीवासीले बढी सचेतना अपनाएका कारण पनि डढेलोका घटना नियन्त्रणमा सहयोग पुगेको उनको भनाइ छ । डढेलाका घटना न्यून हुँदा वन क्षेत्रमा क्षति कम हुनुका साथै वायुमण्डलमा प्रर्दुषण पनि घटेको उनले बताए । गत वर्ष पनि त्योभन्दा अघिल्लो वर्षको तुलनामा डढेलोका घटना कम भएका थिए ।

गत वर्ष वैशाख तेस्रो सातासम्ममा गण्डकी प्रदेशका जम्मा १९६ स्थानमा डढेलो लागेकामा यस वर्ष त्यो भन्दा कम हुने देखिएको वन अधिकृत थापाले बताए । “ठूलो क्षेत्रमा डढेलो लागेर वनमा क्षति पुगेको घटना यस वर्ष मन्त्रालयमा अभिलेख भएको छैन”, उनले भने, “सामान्य र छिटपुट घटनाको गुनासो सङ्कलन र सम्बोधन जिल्ला तहबाटै हुने गरेको छ ।”

दुई वर्षअघि यही याममा भने गण्डकी प्रदेशका ४६७ स्थानमा डढेलोका घटना भएका थिए । उक्त वर्ष डढेलोबाट आठ हजार २७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएको थियो । डढेलो लाग्दा वन क्षेत्रमा बोटबिरुवा, वन्यजन्तु, काठ र दाउरामा क्षति पुग्ने गरेको छ । डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुर्‍याउने गरेको छ । विगतमा डढेलो अनियन्त्रित भएर मानव वस्तीतिर सर्दा धनजनको समेत क्षति भएका घटना बाहिर आउने गरेका थिए ।

गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो लाग्ने गरेको छ । हावाहुरीका कारण पनि डढेलो छिटो फैलने गर्छ । डिभिजन वन कार्यालय, बागलुङका प्रमुख सरोज पन्थीले यस वर्ष हालसम्म जिल्लाका १३ ठाउँमा आगलागीका घटना भएको बताउनुभयो । जन विगतका वर्षको तुलनामा कम सङ्ख्या रहेको उनको भनाइ छ । आगलागीका कारण दुई ४७ हेक्टर वन क्षेत्र प्रभावित भएको प्रमुख पन्थीले बताए ।

“अनियन्त्रित रूपमा डढेलो लागेर वनमा धेरै क्षति पुगेको घटना देखिएको छैन”, उनले भने, “स–साना आगलागीका घटना तत्काल नियन्त्रणमा लिइएको छ ।” डढेलो लाग्नुमा मानवीय कारणले नै मुख्य रहेको उनको भनाइ छ । ५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको प्रमुख पन्थीले बताए ।

आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोको रूप लिने गरेको छ । डेढेलोले जैविक विविधतामा ह्रास ल्याउनुका साथै डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा पनि भूमिका खेल्ने गरेको विज्ञहरू बताउँछन् । डढेलोले माटोको प्राङ्गारिक तत्व नष्ट हुने, जनजन्तुको बासस्थान नासिनेलगायतका समस्या निम्तने गरेको छ ।

डढेलोले भू–क्षय, बाढीजस्ता प्राकृतिक विपत्का घटना पनि बढाउने गरेको छ । डढेलोले निजी, सामुदायिक र राष्ट्रिय वन क्षेत्रका बोटबिरुवा तथा बुट्यान सखाप पार्ने गरेको छ । डढेलो लगाउने व्यक्तिका बारेमा सूचना दिने व्यक्तिलाई उसले बुझाएको जरिवानाको १० प्रतिशत पुरस्कार पाउने व्यवस्था रहेको छ । डढेलो लगाउने व्यक्तिलाई बिगोअनुसारको जरिवानासहित तीन वर्षसम्मको कैद हुनसक्ने कानुनी प्रबन्ध रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *