झापा। प्रहरीले झापाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मेचीनगर-८ का ३० वर्षीय लिप्सु राजवंशी छन्।
प्रहरीका अनुसार उनी डब्लु बी ७४ आर १२१५ नम्बरको मोटरसाइकलमा सवार थिए।
चेकजाँचका क्रममा उनलाई ब्राउनसुगर र लागुऔषध तौलने एक थान तराजुसहित पक्राउ गरिएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।
उनलाई लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा शाखाको टोलीले सोही ठाउँबाट १५ ग्राम ब्राउनसुगरसहित आज दिउँसो पक्राउ गरेको हो।
राजवंशीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर अनुसन्धान थालिएको भट्टराईले जानकारी दिए।
पछिल्लो समय भारतबाट ब्राउनसुगर खरिद गरी नेपालमा बिक्री वितरण तीव्र भइरहेको छ।
राजवंशी लागुऔषध किनबेचमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
