सरकारी अस्पतालमा आइतबार ओपीडी सेवा बन्द हुने

काठमाडौँ । सरकारले अस्पताल तथा स्वास्थ्य संस्थामा पनि हप्तामा दुई दिन बिदा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरी शनिबार र आइतबार ओपीडी सेवा बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो ।

यसअघि मन्त्रालयले अस्पतालमा २ दिन बिदा दिँदा बिरामी मर्कामा पर्ने भन्दै अस्पतालहरुलाई आइतबार पनि ओपीडी खुला गर्न आग्रह गरेको थियो । तर चिकित्सक संघले आइतबार ओपीडी खोल्न नसक्ने बताएपछि सरकारले सरकारी अस्पतालहरुमा फेरि आइतबार बिदा कायम गरेको हो ।

स्वास्थ्यकर्मीको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, स्वास्थ्य संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयको भनाइ छ। यद्यपि आकस्मिक र अन्तरंगसेवाहरू भने २४ सै घण्टा सुचारु राख्न जनाएको छ ।

आइतबारका लागि मिति तोकिएका शल्यक्रिया तथा अन्य प्रक्रियाको व्यवस्थापन मिलाउन अस्पतालहरूलाई निर्देशन दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘बिदाका दिनहरूमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूले सम्भव भएसम्मका सेवा प्रदान गर्न, उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न र एम्बुलेन्सहरू हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *