युद्ध अन्त्य गर्ने प्रयासमा पाकिस्तानमा त्रिपक्षीय वार्ता सुरु

बीबीसी । संयुक्त राज्य अमेरिका र इरानले मध्यपूर्वमा जारी युद्ध अन्त्यको प्रयासमा पाकिस्तानमा वार्ता थालेका छन् । पाकिस्तानको सरकारी स्रोतले बीबीसीलाई अमेरिका, इरान र पाकिस्तान गरी तीनै पक्षसहितको प्रत्यक्ष वार्ता सुरु भएको जानकारी दिएको छ ।

यसअघि दुई पक्षबीच मध्यस्थकर्तामार्फत इस्लामाबादमा अनौपचारिक वार्ता चलेका अधिकारीहरूले बताएका थिए । सुरुमा दुवै पक्षका प्रतिनिधिहरूले मध्यस्थता गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग अलग अलग भेट गरेका थिए । दुवै देशले ६ हप्ताको लडाइँपछि युद्धविराम गरेका थिए र त्यसको केही दिनमा वार्ता सुरु भएको हो ।

मध्यपूर्व भर फैलिएको यो युद्धले विश्वव्यापी ऊर्जा सङ्कट निम्त्याएको छ । दुवै पक्षले एक अर्काले युद्धविरामको सर्त उल्लङ्घन गरेको आरोप लगाएका छन्। त्यसअघि वार्ताका लागि इस्लामाबाद पुगेका अमेरिकी उपरराष्ट्र जेडी भान्सले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग भेटवार्ता गरेका थिए ।

पाकिस्तानको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिका अनुसार वार्तामा पाकिस्तानी प्रधानमन्त्रीले इरान र अमेरिकाबीचको वार्ता उक्त क्षेत्रमा दीर्घकालीन शान्ति कायम गर्न कोशेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन् ।

भान्ससँगै राष्ट्रपति ट्रम्पका विशेषदूत स्टीभ विट्कफ र राष्ट्रपतिका ज्वाइँ ज्यारेड कूश्नर सहभागी थिए । प्रधानमन्त्री शरिफसँग देशका उपप्रधान तथा परराष्ट्रमन्त्री र आन्तरिक मामिलामन्त्री सहभागी थिए ।

त्यसअघि इस्लामाबाद पुगेका इरानका अधिकारीहरूले पनि पाकिस्तानका प्रधानमन्त्री शरिफसँग भेटवार्ता गरेका थिए । त्यसको विस्तृत विवरण सार्वजनिक गरिएको छैन तर इस्लामाबादबाट इरानको सरकारी सञ्चारमाध्यममा समाचार सम्प्रेषित गरिरहेका एक संवाददाताले इरानका सर्तहरू अस्वीकार गरिएको खण्डमा वार्ता रद्द हुनसक्ने बताएकी थिइन् ।

यसैबीच, राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानले बन्द गरिदिएको स्ट्रेट अफ होर्मुज भनिने प्रमुख जलमार्ग खुलाउने प्रक्रिया अघि बढाएको बताएका छन् ।

उनले समुद्रमा बिछ्याइएका धरापबाट जोखिम रहेको उल्लेख गर्दै धराप बिछ्याउने डुङ्गाहरूलाई डुबाइएको बताए । उक्त जलमार्गबाट दुईवटा चिनियाँ पानीजहाज पार भएको तथ्याङ्क सार्वजनिक भएका छन् ।

खाडी क्षेत्रबाट इन्धन आपूर्तिका लागि प्रयोग हुने उक्त जलमार्गको सञ्चालन अमेरिकाको प्रमुख माग रहदैँ आएको छ । ६ हप्ता लामो युद्ध अन्त्य गर्ने प्रयासमा दुवै देशका प्रतिनिधिमण्डल सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक उच्चस्तरीय वार्ता गर्न पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *