काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने भएका हुन् ।
राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् । संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था छ । आजै रातिदेखि सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले आज राति १२ः०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारीका लागि यो सिफारिस गरेको हो । नेपालको संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ।
