लेबनानमाथि इजरायलको भीषण हवाई आक्रमण, २५० भन्दा बढीको मृत्यु

रोयटर्स । इजरायलले बुधबार लेबनानमा हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ । आक्रमणमा परी २५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यो आक्रमण गत महिना हेज्बोल्लाहसँग सुरु भएको द्वन्द्वयताकै सबैभन्दा घातक मानिएको छ।

दुई साताको अमेरिका–इरान युद्धविरामपछि छोटो समयका लागि रोकिएको रकेट आक्रमण हेज्बोल्लाहले पुनः सुरु गरेपछि इजरायलले व्यापक जवाफी कारबाही गरेको हो।

आक्रमणले क्षेत्रीय युद्धविराम प्रयासमा गम्भीर असर पार्ने संकेत देखिएको छ। इरानका राष्ट्रपति मसउद पेजेशकियनले लेबनानमा युद्धविराम कायम हुनु अमेरिका–इरान सहमतिका लागि अनिवार्य शर्त भएको बताएका छन्।

बुधबार दिउँसो राजधानी बेइरुटमा लगातार कम्तीमा पाँच वटा विस्फोट भएका थिए, जसले शहरभरि धुवाँका मुस्ला देखिएको थियो।

इजरायली सेनाले यो युद्धकै सबैभन्दा ठूलो समन्वित आक्रमण भएको जनाएको छ। सेनाका अनुसार १० मिनेटभित्र बेइरुट, बेक्का उपत्यका र दक्षिणी लेबनानका १०० भन्दा बढी हेज्बोल्लाहका कमाण्ड केन्द्र तथा सैन्य संरचनालाई निशाना बनाइएको थियो।

लेबनानको नागरिक सुरक्षा सेवाका अनुसार देशभरि २५४ जनाको मृत्यु भएको छ भने १,१०० भन्दा बढी घाइते भएका छन्। सबैभन्दा बढी क्षति बेइरुटमा भएको छ, जहाँ ९१ जनाको ज्यान गएको छ।

स्वास्थ्य मन्त्रालयले भने देशभरि १८२ जनाको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक गर्दै उक्त संख्या अन्तिम नभएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *