जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी पुनः सशक्त रूपमा ‘रिभाइभ’ हुने विश्वास व्यक्त गरेका छन् ।
बुधबार जनकपुरधाममा पार्टीको मधेश प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सभापति थापाले निर्वाचनको नतिजा जस्तोसुकै भए पनि पार्टी नयाँ ऊर्जा र रणनीतिका साथ फर्किने बताएका हुन् । उनले चुनावमा कमजोर नतिजा आउनुमा कुनै एक मात्र कारण नभएको स्पष्ट पार्दै नेपाली कांग्रेसको इतिहासमै नदेखिएको परिणाम आएकोले गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरे।
सभापति थापाले वर्तमान परिस्थिति र नतिजाबाट प्रेरणा लिएर पार्टीलाई पुनर्गठन गरिने र पुनः मजबुत बनाइनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताए । सभापति थापाले शासकीय सुधारका लागि नेपाली कांग्रेसले निर्वाचनका क्रममा गरेका प्रतिबद्धताहरू प्रतिपक्षमा रहेर पनि पूरा गर्ने बताए।
मधेश प्रदेशले विगतमा पार्टीप्रति देखाएको विश्वासको सम्मान गर्दै अब मधेशका लागि ठोस काम गर्ने उनको प्रतिबद्धता थियो।
साथै, उनले आफू सर्लाहीबाट चुनाव लड्दा मधेशको यथार्थ नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै अब आफू पूर्ण रूपमा ‘समग्र नेपाली’ भएको अनुभूति गरेको बताए।
उनले आगामी वैशाख १ गतेदेखि क्रियाशील सदस्यताको आवेदन खुला गरिने जानकारी दिँदै प्रत्येक वडाबाट सदस्यहरूको अद्यावधिक गरिने बताए। थोरै भए पनि गुणस्तरीय सदस्य बनाउने लक्ष्यसहित सदस्यता व्यवस्थापन गरिने र क्रमशः भातृ संगठनहरूलाई पनि अद्यावधिक गरिने उनले बताए।
