काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको आदेश चित्तबुझ्दो नभएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
विशेष अदालतले आरोपितहरूलाई साधारण तारिख र न्यून धरौटीमा छाड्ने आदेश दिएकोमा असतिुष्टि जनाउँदै अख्तियार मंगलबार उनीहरूलाई थुनामा राखेरै मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्च पुगेको हो । विमानस्थल निर्माणका क्रममा लागत अनुमान अस्वाभाविक रूपमा बढाएर सरकारी कोषलाई करिब ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ (७ करोड ४३ लाख अमेरिकी डलर) हानी पुर्याएको अभियोगमा अख्तियारले गत मंसिर २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
यस मुद्दामा सुनुवाइ गर्दै विशेष अदालत काठमाडौँले मुख्य आरोपितमध्येका डा. पुण्यराज शाक्य, हरि बहादुर खड्का र रोशन चित्रकारलाई साधारण तारिखमा छोड्ने आदेश दिएको थियो। त्यस्तै, निर्माण कम्पनी चाइना सिएमसी इन्जिनियरिङका प्रतिनिधि रबिन रिजाललाई २५ लाख, रतीश चन्द्रलाल सुमनलाई ५ लाख र भीम प्रसाद आचार्यलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको थियो।


