काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन साहलाई भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउन सुझाव दिएका छन् ।
प्रधानमन्त्री साहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित सांसदहरुसँग छलफल गरेका थिए । छलफलका क्रममा सांसद पुनले अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि हवाई मार्गका विषयमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।
उनले भने, ‘भैरहवा विमानस्थलमा श्रम डेस्क राखेर अन्तर्राष्ट्रिय उडान नियमित गरेर पर्यटन क्षेत्रमा सम्भावनाको ढोका खोल्न अब ढिला गर्नु हुँदैन । अन्तर्राष्ट्रिय हवाई मार्गका लागि भारतसँग कूटनीतिक पहल जरूरी छ।’
त्यस्तै, पुनले दाङको कोइलाबास–रोल्पा–रुकुम हुँदै डोल्पा जोड्ने सहिदमार्ग निर्माणको कामलाई गति दिन माग गरेका छन् ।
उनले उत्तरी छिमेकी चीनको सीमासम्म छुने उक्त सडकको रणनीतिक महत्त्व रहेको बताए । अर्थमन्त्री भएका बेला आर्थिक वर्ष २०८१/८२ को बजेटमा समावेश गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना अघि बढाउनुपर्नेमा पनि पुनले जोड दिए ।
