काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनिर्वाचित सभामुख डिपी अर्याललाई निष्पक्ष भूमिका निर्वाह गर्न सुझाव दिएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्ताव राखेपछि समर्थन गर्दै अर्थमन्त्री वाग्लेले २०१५ सालको संसदका सभामुख कृष्णप्रसाद भट्टराई, २०४८ को संसदका सभामुख दमननाथ ढुंगाना र सुवास नेम्वाङले सभामुख र संविधान सभाको अध्यक्षको हैसियतमा संक्रमणकालको सहज अवतरण गराउन व्यवस्थापकीय तथा समन्वयकारी भूमिका निर्वाह गरेको स्मरण गरे ।
उनले अर्याललाई पनि यस्तै मानक स्थापित गर्न आग्रह गरे । वाग्लेले २०४८ सालको संसदका सभामुख दमननाथ ढुंगानाको निष्पक्ष भूमिकाको स्मरण गर्दै त्यसबेलाको रोचक सवालजवाफ पनि सुनाए।
तत्कालीन एमालेका सांसद विरोध खतिवडा उठेर विरोध गरिरहने र सभामुखले आफ्नो नाम नै दमन भएकाले दमन गरिरहने भनेर जवाफ दिने गरेको वाग्लेले बताए । अर्थमन्त्री वाग्लेले अर्यालले मन्त्रीको रुपमा कार्यकारी भूमिका समेत निर्वाह गरिसकेको र सांसदको रुपमा समेत काम गरिरहेको भन्दै अनुभवी नेताको रुपमा चित्रण गरे ।
कुशल व्यवस्थापकीय भूमिका निर्वाह गर्न सक्ने क्षमता भएका अर्यालले आगामी संसद् अर्यालको नेतृत्वमा असल हुने र तटस्थतामा खरो सावित हुने विश्वास उनले व्यक्त गरे ।
