म्याग्दी । यहाँको मङ्गला गाउँपालिका–३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि स्तरोन्नति भएको छ । मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडकको पखेर–आलडाँडा खण्ड स्तरोन्नति भएको हो ।
गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत तीन किलोमिटर ५०० मिटर दूरीमा सडक ग्राभेल र ढलान गर्न आर्थिक वर्ष २०८०÷८१ देखि पखेर–बरङ्जा–३ र ४ हुँदै महेश–धापुङ–ताराखोला सडक योजना निर्माण सुरु गरेको थियो ।
निर्माण कम्पनीले विसं २०८१ असारमा रु पाँच करोड ८६ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको योजना निर्धारित समयभित्रै सम्पन्न भएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले बताए । “अठार महिनाको ठेक्का अवधि भएको यो योजनाको लक्ष्यअनुसारको भौतिक प्रगति भएको छ”, उनले भने, “बजेट अभावका कारण निर्माण व्यवसायीलाई भुक्तानी दिन नसक्दा वित्तीय प्रगति भने कम छ ।”
विसं २०६६ मा मार्ग खुलेको यो सडकलाई सात मिटरका दरले फराकिलो बनाएर नाली र टेवा पर्खाल निर्माण भएको छ । घुम्ती र उकालोमा पाँच सय ५० मिटर सडक ढलान भएको छ । ग्रेड र घुम्ती सुधार भएको छ ।
बरङ्जा खर्कटोलका मिलन रोकाका अनुसार यसअघि तीनदेखि तीन दशमलव पाँच मिटर फराकिलो कच्ची सडकको घुम्ती, ग्रेड नमिलेको, साँघुरो सडक जोखिमयुक्त थियो । “यसअघि जिप, ट्याक्सी र ट्रयाक्टर मुस्किलले चल्ने यो सडकमा अहिले दश चक्के ट्रक गाउँमै आउन थालेका छन्”, उनले भने, “बरङ्जादेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकामा सडक स्तरोन्नति भएपछि यात्राअवधि ३० मिनेटमा छोटिएको छ ।”
भिरालो पाखाको घुम्तीमा गाडी पार गराउन पछाडि लैजानुपर्ने समस्या हटेको छ । बरङ्जामा उत्पादन भएको दूध, सुन्तला, तरकारीलगायत कृषि उपज बजारमा बिक्रीका लागि लैजान सहज भएको छ । बरङ्जादेखि थामडाँडा–सुर्केमेला हुँदै बेनी जोड्ने घुमाउँरो कच्ची सडकमा यात्रा गर्नुपर्ने अवस्था हटेको रोकाले बताए ।
सडक स्तरोन्नति भएकामा बरङ्जावासी उत्साही भएका सडक निर्माण समितिका तत्कालीन अध्यक्ष मोहनलाल सापकोटाले बताए । “अप्ठ्यारो ठाउँको खण्डमा अहिले सडक सहज भएकामा खुसी छौँ”, उनले भने , “पखेरदेखि झाँक्रीपानीसम्मको सबै ११ किलोमिटर सडकलाई स्तरोन्नति गर्न सकेमा अझै सहज हुने थियो ।”
बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो । मङ्गला गाउँपालिकाको ३, ४, ५ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने रणनीतिक महत्वको यस सडकलाई स्तरोन्नतिका लागि प्राथमिकता दिएको म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए ।
चालु आर्थिक वर्षमा रु एक करोड ३९ लाख बजेट विनियोजन भएको यस योजनाका निर्माण व्यवसायी जीवन रोकायाले रु ८० लाख भुक्तानी पाउन बाँकी रहेको बताए । निर्माण सामग्री आपूर्तिकर्ता र मजदुरहरूलाई ज्याला दिन समस्या भएको उनले गुनासो गरे ।
