काठमाडौं । नेकपा एमालेले पार्टीका नेता–कार्यकर्ता तथा विशेषगरी महिलामाथि भइरहेको साइबर आक्रमणको घोर निन्दा र भत्र्सना गरेको छ । शुक्रबार बसेको पार्टीको सचिवालयको बैठकले नियोजित साइबर आक्रमणको विरुद्ध कडा रुपमा प्रतिवादमा उत्रिने र कानुनी उपचारमा सक्रिय हुन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरेको सचिव लेखराज भट्टले जानकारी दिए ।
उनले भने,‘नेता–कार्यकर्ता तथा विशेषगरी महिला दिदीबहिनीविरुद्ध भइरहेको साइबर आक्रमणको घोर निन्दा र भत्र्सना गरेको छ। साथै नियोजित आक्रमणको विरुद्ध कडा रुपमा प्रतिवादमा उत्रिने र कानुनी उपचारमा सक्रिय हुन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरेको छ ।’
त्यस्तै एमालेले वर्तमान सरकारको विद्यार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णयको कडा शब्दमा विरोध गरेको छ । सरकारलाई अबिलम्ब यस निर्णयबाट पछाडि हट्न ध्यानाकर्षण समेत गराएको छ ।
‘वर्तमान सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने तथा उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णयको एमालेले कडा शब्दमा विरोध गरेको छ। पार्टीले उक्त निर्णयबाट तत्काल पछि हट्न सरकारको ध्यानाकर्षण गराएको छ,’उनले भने ।
