म्यान्मा । म्यान्मामा पाँच वर्षअघि बल प्रयोगमार्फत सत्ता कब्जा गरेको सैन्य नेतृत्वले अब नागरिक आवरणमा शासनलाई निरन्तरता दिन खोजेको सङ्केत देखिएको छ । शुक्रबार संसदले जुन्ता प्रमुख मिन आङ ह्लाइङलाई राष्ट्रपतिमा निर्वाचित गरिनु त्यसैको पछिल्लो कदमका रूपमा हेरिएको छ ।
एएफपीका पत्रकारहरूले सङ्कलन गरेको मतगणनाको तथ्याङ्कअनुसार उनले सांसदहरूबाट प्राप्त ५८४ मतमध्ये कम्तीमा २९३ मत हासिल गर्दै स्पष्ट बहुमत प्राप्त गरेका छन् । उक्त मतदानमा सैन्य पक्षधर सांसदहरूको प्रभाव प्रमुख रूपमा देखिएको थियो ।
मिन आङ ह्लाइङले सन् २०२१ मा प्रजातान्त्रिक प्रणालीलाई अन्त्य गर्दै निर्वाचित नेतृ आङ सान सुकीलाई हिरासतमा लिनुका साथै उनको पार्टी विघटन गरेका थिए । त्यसयता उनकै नेतृत्वमा रहेको सैन्य प्रशासनले देश सञ्चालन गर्दै आएको छ ।
जुन्ताले गत महिना संसद् पुनःस्थापना गर्नु जनतामा सत्ता फिर्ताको सङ्केत भएको दाबी गरे पनि विश्लेषकहरूले यसलाई सैन्य शासनलाई वैधता दिन खोजिएको बाह्य आवरणका रूपमा व्याख्या गरेका छन् ।
यसैबीच, जनवरीको अन्त्यमा सम्पन्न निर्वाचनमा सेना समर्थित युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टीले ८० प्रतिशतभन्दा बढी संसदीय सिट जितेको थियो । साथै, संविधानअनुसार सशस्त्र सेनाका सेवारत सदस्यहरूले कुल सिटको एक चौथाइ हिस्सा स्वतः ओगटेका छन् ।
चुनावको विरोध वा आलोचना गर्न नपाइने व्यवस्था गरिएको थियो भने विद्रोहीहरूको नियन्त्रणमा रहेका क्षेत्रमा मतदान हुन सकेन । यस्ता क्षेत्रहरूमा सैन्य शासनविरुद्ध सशस्त्र सङ्घर्ष जारी रहेको छ ।
फेब्रुअरी २०२१ को सैनिक विद्रोहयता जारी द्वन्द्वले सबै पक्षका दशौँ हजार मानिसको ज्यान लिइसकेको छ, जसले देशलाई दीर्घकालीन अस्थिरता र मानवीय सङ्कटतर्फ धकेलेको छ ।
