काठमाडौँ । नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले नै सार्वजनिक गर्न माग गरेको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले प्रतिवदेन सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् । उनले प्रतिवेदन सरकारले पनि गोरखापत्रमै पढ्ने हो भन्दै प्रश्न गरे ।
उनले भने, ‘नयाँ प्रधानमन्त्रीजिलाई म ध्यानाकर्षण गराउन चाहन्छु, जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमा पढ्ने ? सरकारले सुझबुझपुर्ण ढंगले कानुन र प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गरोस् । कांग्रेस दोषी कोही उम्किनुहुन्न, निर्दोष कोही फस्नुहुन्न भन्ने मान्यता विगतदेखिनै बोक्दै आएको छ। यो मान्यतामा हामी आज पनि प्रष्ट र दृढ छौं।’
उनले भविष्यमा संसद भवन जल्न नदिने गरी काम गर्नुपर्ने बताए । उनले भने, ‘आज हामी जहाँ यो बैठक बसिरहेका छौं यो हाम्रो संसद भवन होइन । हाम्रो संसद भवन भदौ २४ गते खरानी भयो । यो बेला त्यो खरानीलाई सम्झौं, अनि संकल्प गरौं यसरी काम गरौं ताकी भविस्यमा यो देशलाई खरानी बनाउन कोही अघि नसरुन् । किन खरानी भयो संसद भवन ? किन जल्यो सिंहदरबार ? किन ध्वस्त बनाइए अनेकौं भौतिक संरचना ? म सभामुख महोदय सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु भदौ २३ र २४ दुवै दिनका घटनालाई एकएक केलाउन जरुरी छ ।’
उनले जाँचबुझ आयोगले सही प्रतिवेदन नलेखेको बताए । उनले भने, ‘कसैले २३ गतेको घटना देख्ने २४ को नदेख्ने । कसैले २४ को ध्वंस देख्ने, २३ को दमन नदेख्ने । यो प्रवृत्ति एकदम गलत छ । हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगले सम्म २३ गतेको घटनाको अनुसन्धान गर्यो, कारबाहीको सिफारिस गर्यो । तर २४ को घटनाको अनुसन्धान गर्न भ्याइएन भन्यो । यो कस्तो तरिका हो ? पटकपटक समय थप्ने, तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिहरुबाट नियतवस भएको होइन भनेर भन्न मिल्ने देखिन्न ।’
उनले राम्रा काममा सरकारलाई साथ निने र संविधान विपरीत काम भए खबरदारी गर्ने बताए।
