संसदीय दलको नेता चयन प्रक्रियाले एमालेभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको प्रष्ट भयोः नेता पाण्डे

काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलको नेता चयनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार राति सामाजिक संजालमार्फत पाण्डेले संसदीय दलको नेता चयन प्रक्रियाले एमालेभित्र आन्तरिक लोकतन्त्र कति कमजोर र संकुचित भइसकेको छ भन्ने स्पष्ट पारेको बताएका हुन् ।

उनले भनेका छन्, ‘संसदीय दलको नेता चयन प्रक्रियाले एमालेभित्र आन्तरिक लोकतन्त्र कति कमजोर र संकुचित भइसकेको छ भन्ने स्पष्ट पारेको छ । एउटा सम्भावना बोकेको युवा सांसदले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थक समेत नपाउने वातावरण सिर्जना हुनु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद विषय हो।’

उनले यस्तो दमनकारी प्रवृत्तिले संगठनलाई गतिशील नभई अधोगतितर्फ मात्र धकेल्ने बताएका छन् । उनले भनेका छन्, ‘जब नेतृत्व ‘म नै पार्टी र पार्टी नै म’ भन्ने भ्रममा बाँच्छ र निर्वाचनको गम्भीर पराजयलाई पनि सामान्य ठान्छ, त्यहाँ सुधारको ढोका बन्द हुन्छ। यस्तो दमनकारी प्रवृत्तिले संगठनलाई गतिशील होइन, अधोगतितर्फ मात्र धकेल्छ।’

उनले नौ सिटमा खुम्चिएको आजको अवस्थामा पनि नेतृत्वको चेत नखुलेको बताएका छन्। उनले भनेका छन्, ‘ नौ सिटमा खुम्चिएको आजको अवस्थामा पनि चेत नखुल्यो भने कहिले खुल्ने ? अब स्पष्ट छ – पुरानो ढर्रा र गुटगत घेराबन्दीले अबको एमाले चल्दैन। पार्टीलाई कसैको ’निजी क्लब’ होइन, आम कार्यकर्ता र जनताको साझा संस्था बनाउन साहसिक परिवर्तन र नयाँ मार्गचित्र अनिवार्य छ।’

बुधबार एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । युवा नेता सुहाङ नेम्बाङले प्रतिस्पर्धा गर्न खोजेपनि समर्थक र प्रस्ताबकसमेत नपाएपछि उम्मेदवारी नै दिन पाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *