-केशवप्रसाद भट्टराई ।
मुलुक कसरी समृद्ध हुन्छ ? कानुनको शासन, निर्वाध आर्थिक स्वतन्त्रता र स्वतन्त्र बजारको अभ्यासमा प्राचीन चीन, एथेन्स, रोम र लिच्छवीकालीन नेपाल
१. चीनमा सन् ९६० देखि १२७९ सम्म सोङ्ग बंशको शासन थियो र त्यो अवधि चीनको स्वर्ण युग मानिन्छ र त्यतिखेर चीन संसारको सवैभन्दा समृद्ध र शक्तिशाली मुलुक थियो । त्यस अवधिमा चीनमा उत्कृष्ट किसिमको कानुनको शासन थियो “योग्यम योग्याय योजयेत“ अर्थात् उन्नत ढङ्गको मेरिटोक्रेसी थियो । कानुन कार्यान्वयन गर्ने व्यक्ति र अधिकारीहरू निष्पक्ष हुन्थे र उन्नत भर्ना प्रक्रियाबाट उनीहरूको चयन र नियुक्ति हुन्थ्यो । नागरिकको सम्पत्तिको अधिकार सुरक्षित राख्नु राज्यको सर्वोच्च दायित्व थियो । जनता आफूखुसी जहाँसुकै जान –आउन स्वतन्त्र थिए । शासक समूहसँग फरक मत राखे बापत कसैमाथि कुनै दण्ड विधान थिएन ।
उद्योग र व्यापारको उन्नति विकासको शिखरमा थियो र त्यही अवधिमा चीनमा कागजी मुद्रा प्रचलनमा थियो अर्थात् पश्चिममा कागजी मुद्रा प्रचलनमा आउनु भन्दा ६०० वर्ष अघि चीनले कागजी मुद्रा चल्थ्यो । कानुनको शासनको स्थानमा जव सत्तामा बस्नेको आवेग, अहं र अहङ्कारले साशन चलन लाग्यो चीन अधोगतिमा जान थाल्यो ।
२. प्राचीन एथेन्स संसारकै समृद्ध राष्ट्र थियो – त्यसको एउटै कारण थियो आर्थिक स्वतन्त्रता । आज युरोप, अमेरिकामा, सिङ्गापुर, हंगकङमा जुन स्तरको सम्पत्तिको अधिकार र आर्थिक स्वतन्त्रता छ त्यो भन्दा बढी नै त्यस्तो स्वतन्त्रता प्राचीन एथेन्समा थियो ।
३. विशाल रोमन साम्राज्यमा त्यस्तै आर्थिक स्वतन्त्रता थियो । बजार स्वतन्त्र थियो, जति कम भन्सार दर हुन्छ त्यति नै बढी आर्थिक गतिविधि र औद्योगिक र व्यापारिक कारोवार हुने विश्वासले भन्सार २ प्रतिशत भन्दा बढी थिएन । चार लाख किलोमिटर लामो सडक सञ्जालबाट वस्तु र सामानको स्वतन्त्र आवागमन हुने कारणले नै रोमन साम्राज्य फले–फुलेको थियो । आजको बेलायत, फ्रान्स , जर्मनी जति समृद्ध छन् –प्राचीन रोम त्यत्तिनै समृद्ध थियो ।
४. लिच्छवीकालीन नेपाल छिमेकी मुलुकहरू भन्दा विकसित, समृद्ध र शक्तिशाली थियो । इतिहासकार ज्ञानमणि नेपालले आफ्नो एउटा पुस्तकमा उल्लेख गरे अनुसार भारत र चीन वीचको एउटा द्वन्द्वमा चीनियाँ पक्ष पराजित भयो र नेपालसँग सहयोग माग्यो नेपालको फौजले तत्कालीन मगधका शक्तिशाली शासकलाइ गिरफ्तार गरेर चीनलाई सुम्पिदिएको थियो । त्यसबखतको नेपाल किन त्यति शक्तिशाली र समृद्ध थियो त भन्दा कानुनको बलियो शासन र आर्थिक स्वतन्त्रता र स्वतन्त्र व्यापार ।
५. गएको डेढ सय वर्षदेखि अमेरिका विश्वको सर्वाधिक समृद्ध र शक्तिशाली मुलुक छ –कारण त्यहाँ कानुनको सम्पूर्ण प्रक्रिया पुरा नगरी कसैमाथि कुनै कारवाही हुँदैन , उच्चतम स्तरको नागरिक÷ आर्थिक स्वतन्त्रता छ ।
६. जुन कुरा आज भन्दा पाँच सय, हजार –दुई हजार वर्ष अघि नेपाल र विश्वले बुझेको र अभ्यास गरेको थियो –आज पनि नेपालले बुझ्न सकेको छैन । भदौ २३–२४ देखि आजसम्मका घटनाक्रमले यही बताएको छ ।
७. अनुसन्धानका कुनै कानुनी मानदण्ड र प्रक्रिया अवलम्वन नगरी नियोजित/निर्देशित तरीकाबाट आवेग र आक्रोशको बलमा तयार गरिएको कुनै प्रतिवेदनका आधार बनाएर कानुन र कानुनले अख्तियार प्रदान गरेका व्यक्ति र संस्थाले नभएर जब गृहमन्त्रीको आदेशमा पूर्वाग्रह साध्न थुनछेक र गिरफ्तारीको अभ्यास हुन्छ –मुलुकले शान्ति र स्थिरताको मार्ग अवलम्वन गर्न सक्दैन ।
इतिहासमा सबैभन्दा शिक्षित र युवा व्यक्तिहरू सम्मिलित सरकारको शासन संचालनमा यस किसिमको असभ्य अशोभनीय मानक स्थापना गर्नुभनेको कानुन र कानुन कार्यान्वयन गर्ने निकाय माथि जनताको अविश्वास खडा गर्नु हो जसले न मुलुकलाई राजनीतिक स्थिरताको मार्गमा लैजान सक्दछ न देश र जनतालाई समृद्धि दिन ।
