चिली । चिलीको नयाँ दक्षिणपन्थी सरकारले अनियमित रूपमा देश प्रवेश गर्ने दशौँ हजार आप्रवासीलाई कानुनी मान्यता दिने योजना रद्द गर्ने घोषणा गरेको छ । राष्ट्रपति ग्याब्रियल बोरिकको अघिल्लो वामपन्थी सरकारले कानुनी हैसियतका लागि आवेदन दिने एक लाख ८२ हजार मानिसलाई कानुनी मान्यता दिने प्रतिवद्धता व्यक्त गरेको थियो ।
आप्रवासनविरुद्ध कडाइ गर्ने प्रतिबद्धताका साथ अभियान चलाएको जोसे एन्टोनियो कास्टको नयाँ सरकारले यो आदेशलाई कार्यान्वयन नगर्ने आप्रवासन सेवाले बताएको छ।
“हामी बोरिक सरकारले प्रस्ताव गरेजस्तो आवासीय कागजातहरूको ठूलो अनुमतिको लागि अगाडि बढ्ने छैनौँ,“ आप्रबासन सेवाका निर्देशक फ्रान्क साउरबाउमले भने ।
कास्टले पेरुको सीमामा नयाँ अवरोधहरू निर्माण गर्न यसै महिनाको सुरुमा आदेश दिएका थिए । कास्टले पेरू र बोलिभियाबाट आउने आप्रवासीहरूलाई रोक्न ‘सीमा निगरानी’ बढाउने र प्रवेशमा कडाइ गर्ने वाचा गरेका थिए ।
कास्टले हत्या, अपहरण र फिरौती असुलीमा वृद्धि रोक्न कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनले हत्या, अपहरण र फिरौती असुलीजस्ता घटनामा वृद्धि हुनुलाई कागजात नभएका आप्रवासीहरू प्रवेश दिइनु केही कारकमध्ये एक भएको बताए ।
दक्षिणपन्थी राष्ट्रपति कास्टको निर्वाचन चिलीको इतिहासमा सन् १९७३ देखि १९९० सम्म अगस्टो पिनोचेको सेनाको नियन्त्रण रहेको सत्तापछि चिलीमा वर्तमान् राष्ट्रपति कास्टको निर्वाचनले देशमा एक अतिराष्ट्रवादी नेताको नेतृत्व दिएको छ।
सरकारी अनुमान अनुसार चिलीमा रहेका करिब तीन लाख ३७ हजार विदेशी नागरिकहरूसँग आवासीय अनुमतिका लागि कागजातहरू छैनन् ।
