भारत । भारतले दशकौँ लामो विद्रोहलाई परास्त गर्न लामो समयसीमा पूरा गर्दै सोमबार मुलुकलाई माओवादी द्वन्द्वमुक्त मुलुक घोषणा गरेको छ ।गृहमन्त्री अमित शाहले नक्सल चिनिने विद्रोहीहरूबाट भारत ’स्वतन्त्र’ बनेको संसदमा घोषणा गरेका हुन् ।
“म खुल्लमखुल्ला भन्न सक्छु कि हामी नक्सलवादीमुक्त भएका छौँ, यो भन्न कुनै हिचकिचाहट छैन,” उनले भने, “सम्पूर्ण अभियान सकिएपछि म देशलाई सार्वजनिकरूपमा पनि जानकारी दिनेछु ।”
भारतले विगत दुई वर्षमा नक्सलवादी विद्रोहको अन्तिम अवशेषविरुद्ध आफ्नो अभियान तीव्र बनाएको बताउँदै आएको थियो । यो आन्दोलनको नाम पश्चिम बङ्गालको हिमालयको फेदीमा रहेको नक्सलबारी गाउँको नामबाट राखिएको छ । यो छ दशकअघि माओवादी प्रेरित विद्रोह सुरु भएको स्थानबाट नै उक्त आन्दोलनको नाम राखिएको थियो ।
विद्रोहले देशको लगभग एक तिहाइ भाग नियन्त्रण गरेको थियो र सन् २००० को दशकको मध्यमा अनुमानित १५ हजार देखि २० हजार लडाकुहरू भएको आन्दोलन चरम उत्कर्षमा पुगेको थियो । तर हालैका वर्षहरूमा यो नाटकीय रूपमा कमजोर भएको थियो।
अधिकांश सशस्त्र विद्रोहीहरू मध्य छत्तीसगढ राज्यको बस्तर क्षेत्रसम्म सीमित थिए, जुन घना जङ्गल र पाहाडहरूको विशाल खनिज–समृद्ध क्षेत्र हो ।
“बस्तर अब नक्सलमुक्त छ,” ९० मिनेटको भाषणका क्रममा शाहले विद्रोह अन्त्यका लागि सुरक्षा बलले अपनाएको इतिहास र रणनीतिबारे जानकारी दिँदै भने ।
उनले भने, “माओवादी हिंसा गर्ने, नक्सलवाद हिंसा गर्नेहरुको दिन अब सकिएको छ ।” सन् २०२५ मा सुरक्षा फौजले ३६४ विद्रोहीहरूलाई मारेको र एक हजार २२ लाई पक्राउ गरेको थियो भने वरिष्ठ नेताहरूसहित अन्य दुई हजार ३३७ जनाले आत्मसमर्पण गरेका थिए ।
सन् २०१० यता नागरिक र सुरक्षा बलको मृत्युमा ९० प्रतिशतले कमी आएको छ भने माओवादी आक्रमणको संख्या एक हजार ९०० बाट घटेर गत वर्ष करिब २०० मा झरेको छ ।
शाहले सरकारले विद्रोहबाट प्रभावित राज्यहरूमा स्थानीय प्रहरी बलको क्षमतालाई बलियो बनाएको र सुरक्षा बलहरूबीच समन्वय गहन बनाएको बताए ।
“हामीले हतियार मात्र होइन, सबै निकायको दृष्टिकोण अपनाएका छौँ,” शाहले भने, “माओवादीका दुई कमान्डरबाहेक सबै या त मारिएका छन् वा आत्मसमर्पण गरेका छन्। उनीहरूले पनि चाँडै आत्मसमर्पण गर्नेछन्।”
छत्तिसगढका उपमुख्यमन्त्री विजय शर्माले यसअघि एएफपीलाई राज्य नक्सलवादी विद्रोहीहरूबाट पूर्ण रूपमा मुक्त रहेको बताएका थिए ।
माओवादीले वन क्षेत्रमा सीमान्तकृत आदिवासी जनजातिको अधिकारका लागि आफूहरू लडिरहेको बताएका थिए ।
सन् १९६७ मा मुट्ठीभर गाउँलेहरूले आफ्ना सामन्ती शासकहरूविरुद्ध विद्रोह गरेपछि १२ हजारभन्दा बढी विद्रोही, सैनिक र सर्वसाधारणको मृत्यु भइसकेको छ। माओवादी केन्द्रका पूर्व विद्रोही २६ वर्षीय विष्णु माडवीले छापामारसँग सात वर्षपछि गत जनवरीमा आत्मसमर्पण गरेका थिए ।
