जुन्ताबाट नागरिक सत्तातर्फ मिन आङ ह्लाइङको रूपान्तरण

म्यानमार। म्यानमारमा मिन आङ ह्लाइङलाई उपराष्ट्रपति पदका लागि मनोनयन गरिएको र सैन्य कमान्डरको जिम्मेवारीबाट प्रतिस्थापन गरिएको घटनाले उनलाई नागरिक राष्ट्रपतिको रूपमा सत्तामा निरन्तरता दिने स्पष्ट मार्ग खोलिएको छ । पाँच वर्षदेखि कठोर सैन्य शासन सञ्चालन गर्दै आएका उनले अब औपचारिक रूपमा नागरिक संरचना भित्रैबाट शासन अघि बढाउने तयारी गरेकाे देखिन्छ ।

सन् २०२१ मा आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता सम्हालेका मिन आङ ह्लाइङले त्यसयता देशमा कडा नियन्त्रण कायम गरेका थिए । सो कदमपछि सुकीलाई हिरासतमा राखियो, उनको दल विघटन गरियो र देश गृहयुद्धतर्फ धकेलियो ।

हालै सम्पन्न अत्यन्त नियन्त्रणयुक्त निर्वाचनमार्फत सैन्य समर्थक शक्तिहरूलाई सहज जित दिलाइएको थियो । उक्त चुनावमा विरोध वा आलोचनालाई अपराध मानिएको थियो, जसका कारण प्रजातन्त्र पक्षधरहरूले यसलाई निष्पक्ष प्रक्रिया नभएको भन्दै आलोचना गर्दै आएका छन् ।

राज्य सञ्चालित मिडियाअनुसार सांसद क्याव क्याव हतेले संसदमा मिन आङ ह्लाइङलाई उपराष्ट्रपति पदका लागि प्रस्ताव गरेका थिए । तीन उपराष्ट्रपतिमध्ये एकलाई संसद्ले राष्ट्रपतिमा चयन गर्ने व्यवस्था छ, जसले उनको राष्ट्रपतिको यात्रालाई थप सुनिश्चित बनाएको छ ।

यसैबिच, सेनाको नेतृत्वमा पनि परिवर्तन गरिएको छ । पूर्व जासुस ये विन ऊलाई नयाँ कमान्डर–इन–चिफको रूपमा नियुक्त गरिएको विभिन्न मिडियाले जनाएका छन् । नेपिडोमा आयोजित कार्यक्रममा उनलाई औपचारिक रूपमा जिम्मेवारी दिइएको थियो ।

म्यान्माको सेनाले सधैँ आफूलाई राष्ट्रको एकता जोगाउने प्रमुख शक्तिका रूपमा प्रस्तुत गर्दै आएको छ । यद्यपि, सन् २०११ देखि सुरु भएको सीमित लोकतान्त्रिक अभ्यासले केही समयका लागि नागरिक नेतृत्वलाई स्थान दिएको थियो, जसले सुधारका प्रयासहरू अघि बढाएको थियो ।

तर सन् २०२० को निर्वाचनमा सुकी नेतृत्वको दलले सैन्य समर्थित युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टीलाई पराजित गरेपछि सेनाले आफ्नो प्रभाव घट्ने चिन्तामा सत्ता पुनः आफ्नो नियन्त्रणमा लिएको विश्लेषकहरू बताउँछन् ।

अहिले सोही सैन्य समर्थित दलले संसद्मा करिब ८० प्रतिशत सिट जितेको छ, जसका कारण नयाँ सरकार सेनासँग नजिक रहेर काम गर्ने अनुमान गरिएको छ । यद्यपि, नागरिक भूमिकामा प्रवेश गर्दै गर्दा मिन आङ ह्लाइङले सैन्य नेतृत्व नयाँ कमान्डरलाई सुम्पिँदै सत्ता सन्तुलन कायम राख्ने चुनौतीपूर्ण चरण पार गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *