विश्वविद्यालयबाट विद्यार्थी सङ्गठनका संरचना हटाई ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ बनाइने

काठमाडौँ । सरकारले विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन संरचना हटाउने भएको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मा ६० दिनभित्र दलीय विद्यार्थी संगठन हटाउने उल्लेख छ ।

निर्णयमा भनिएको छ, ‘शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी सङ्गठनका संरचना हटाई ९० दिनभित्र स्टुडेन्ट काउन्सिल/भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने।’

त्यस्तै विश्वविद्यालयहरूबाट लिइने स्नातक र स्नातकोत्तर परीक्षाको नतिजा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको क्यालेन्डर अनुसार निकाल्ने, विद्यार्थीहरूलाई स्नातकसम्मको अध्ययन गर्न नागरिकता नचाहिने गरी विश्वविद्यालयहरूले आवश्यक कार्यविधिगत व्यवस्था तत्कालै गर्ने सरकारले निर्णय गरेको छ ।

त्यस्तै, कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने र उनीहरूलाई मनोवैज्ञानिक असर र दवाव नपर्ने खालको मूल्याङ्कन प्रणालीबारे विकल्प तयार गर्ने सरकारले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *