काठमाडौं । नवनियुुक्त गृहमन्त्री सुदन गुरुङले पदभार ग्रहण गरेका छन् । शुक्रबार शपथ ग्रहणपछि गृह मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि उनले सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय गरेका छन् । त्यसक्रममा उनले जेनजी आन्दोलन छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताए । भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउने भन्दै उनले जेनजी आन्दोलनको मर्मअनुसार सरकार अघि बढ्ने बताए ।
उनले भने, ‘कम बोल्ने मान्छे हुँ । एक्सनमा जान्छु । जेनजीको माग अनुसार हामी आएको हो । सुशासनविरुद्धका कुनै काम हुन सक्दैन ।’
उनले सेवा प्रवाहका विषयमा गुनासा आउन नदिन कर्मचारीहरूलाई आग्रह गरे । आयोगले अघिल्लो सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन । सरकारले प्रतिवेदन सार्वजनिक नगरेपछि संचारमाध्यमार्फत प्रतिवेदन सार्वजनिक भएको छ ।
