काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरुलाई पार्टीमाथि भएका प्रहारहरूको सशक्त प्रतिवाद गर्न निर्देशन दिएका छन् ।
प्रतिनिधिसभामा शपथ ग्रहणलगत्तै पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेका सांसदहरूलाई अध्यक्ष ओलीले एमालेले राम्रो काम गरेकै कारण आफूहरूविरुद्ध आक्रमण केन्द्रित भएकाले पार्टीमाथि भएका प्रहारहरूको सशक्त प्रतिवाद गर्न निर्देशन दिएका हुन् ।
उनले पार्टीको ‘सभ्य शैली’ले त्यस्ता आक्रमणको प्रभावकारी सामना गर्न नसकेको स्वीकार गर्दै अब त्यसमा सुधार आवश्यक रहेको बताए ।
उनले भने,‘राम्रो काम गरेकाले हाम्रा विरुद्ध प्रहार केन्द्रित भयो । प्रहार राजनीतिक हिसाबले तथ्य र तर्कमा आधारित भएन । असभ्य अपशब्द, असत्य भ्रमपूर्ण र अश्लिल, गालीगलौज र कूप्रचारहरुबाट हामीमाथि प्रहार भयो । हाम्रो सभ्य शैलीले त्यसको मुकाबला गर्न सकेन । यस्तासँग के बाल्ने के, प्रतिवाद गर्ने किसिमले चुप लाग्ने प्रवृत्ति बढ्यो । डटेर त्यसको सामना गर्न सकेनौं । मैंले धेरै वर्ष अघि भनेको थिए । गोरु नाङ्गै हुँदा सरम मान्नुपर्दैन । त्यो जातै त्यस्तै हो । कोही उसका उद्देश्य अन्तर्गत नै निवस्त्र हुन्छ । हामीले त्यसको पनि सामना गर्नुपर्ने हुन्छ ।’
अध्यक्ष ओलीले सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्न नसक्दा सत्य कुरा जनतासम्म पुग्न नसकेको बताए । उनले अनावश्यक विषयमा बढी टिप्पणी गर्ने प्रवृत्ति त्याग्न र आवश्यक मुद्दामा केन्द्रित भएर स्पष्ट धारणा राख्न सांसदहरूलाई सुझाव दिए ।
उनले भने, ‘पार्टीमा एकथरी मानिस बोल्ने एकथरी चुप लाग्ने स्थिति भयो । स्टाटस लेख्छन् साथीहरु तर चाहिने भन्दा नचाहिने कुरामा बढी लेख्छन् । यसलाई सुधार्नु पर्नेछ । नराम्रो कामबाट हामी पछाडि पारिएको होइन् राम्रो कामबाट हमलामा परेका हौं ।’ उनले यो निर्वाचन परिणाम अनपेक्षित, अस्वभाविक, अपत्यारिलो र जादुमय रहेको बताए ।
