मोदी र ट्रम्पबीच ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा पहुँचबारे छलफल

नयाँदिल्ली ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मध्यपूर्वको सुरक्षा अवस्था तथा स्ट्रेट अफ हर्मुज जलमार्गलाई खुला राख्ने विषयमा टेलिफोन वार्ता भएको छ।

वार्तापछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै मध्यपूर्वको अवस्थाबारे आफू र राष्ट्रपति ट्रम्पबीच ‘उपयोगी विचारहरूको आदानप्रदान’ भएको उल्लेख गरेका छन्। उनले भारत सँधै तनाव कम गर्ने र शान्ति बहालीको पक्षमा रहेको स्पष्ट पार्दै ‘स्ट्रेट अफ हर्मुज’ खुला, सुरक्षित र पहुँचयोग्य रहनु सम्पूर्ण विश्वका लागि अत्यन्त महत्वपूर्ण भएको बताए।

उनका अनुसार शान्ति र स्थायित्वका लागि गरिने प्रयासमा दुवै देश निरन्तर सम्पर्कमा रहने सहमति भएको छ।

यसअघि भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले पनि दुई नेताबीच मंगलबार भएको टेलिफोन संवादको पुष्टि गर्दै मध्यपूर्वको अवस्था र उक्त जलमार्गको रणनीतिक महत्वबारे छलफल भएको जानकारी दिए।

यसै सन्दर्भमा, प्रधानमन्त्री मोदीले गत २१ मार्चमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानसँग पनि क्षेत्रीय घटनाक्रमबारे कुराकानी गरेका थिए। सो क्रममा उनले अन्तर्राष्ट्रिय नौवहनको स्वतन्त्रता सुनिश्चित गर्ने तथा प्रमुख ढुवानी मार्गहरू खुला र सुरक्षित राख्नुपर्ने आवश्यकता दोहोर्याएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *