मतादेशले मुलुकको भविष्यलाई दिशानिर्देश गरेको छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व अब जनप्रतिनिधिको काँधमा आएको बताएका छन् ।निर्वाचन आयोगले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

‘निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व अब जनप्रतिनिधिको काँधमा आएको छ, लोकतन्त्रमा मत फरक हुन सक्छन्, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु’, उनले भने ।

सो अवसरमा राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबैमा हार्दिक आह्वान पनि गरे ।

‘लोकतन्त्रले प्रदान गरेको आफ्ना प्रतिनिधि चुन्ने अधिकारको प्रयोग गरी यो महान् उत्सवमा नेपाली नागरिकले देखाउनुभएको उत्साहपूर्ण सहभागिताले हाम्रो लोकतान्त्रिक प्रणालीप्रतिको अटुट विश्वासलाई पुनः पुष्टि गरेको छ र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याएको छ, मतदाताले मतदान केन्द्रसम्म पुगेर व्यक्त गर्नुभएको मतादेशले मुलुकको भविष्यलाई दिशानिर्देश गरेको छ’, राष्ट्रपति पौडेलले भने ।

उनले आयोगले यस पटक निर्वाचनमा मतदाताको सहभागिता बढाउने, मितव्ययीता र पारदर्शीता कायम गर्ने, आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने, हरित निर्वाचनको अवधारणा कार्यान्वयन गर्नेलगायतका क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताए । ‘यसले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष, विश्वसनीय र वातावरण मैत्री बनाउन मद्दत पुगेको र निर्वाचनले अन्तरराष्ट्रिय समूहबाट समेत प्रसंशा बटुल्न सफल भएको मैले महशुस गरेको छु’, राष्ट्रपति पौडेलले भने ।

उनले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको बताए । साथै, उनले देशको जटिल र कठिन परिस्थितिबाट मुलुकलाई निकास दिन घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहोरात्र खटेर मन, वचन र कर्मले क्रियाशील भै शान्तिपूर्णरुपमा सफलतापूर्वक सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सम्बद्ध सरोकारवाला तथा आ– आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्नुभएकोमा सम्पूर्ण देशवासी दिदीबहिनी तथा दाजुभाइलाई धन्यवाद व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *