नयाँ दिल्ली । इच्छामृत्युको अनुमति पाउने पहिलो भारतीय हरिश राणाको १३ वर्ष लामो कोमापछि निधन भएको छ । ३१ वर्षीय राणाको नयाँदिल्लीस्थित एम्स अस्पतालमा मृत्यु भएको हो ।
सर्वोच्च अदालतले उनका अभिभावकको अनुरोधमा जीवनरक्षक उपकरण हटाउन अनुमति दिएको करिब दुई सातापछि उनको निधन भएको हो । राणालाई मार्च १४ मा इच्छामृत्यु प्रक्रियाका लागि एम्स अस्प्ताल भर्ना गरिएको थियो ।
दुई दिनपछि जीवनरक्षक प्रणाली हटाउने प्रक्रिया सुरु गरिएको थियो र ११ दिनपछि उनको मृत्यु भएको हो । राणा सन् २०१३ देखि कोमामा थिए। पञ्जाब विश्वविद्यालयका विद्यार्थी रहेका बेला उनी पेइङ गेस्ट बसोबासको चौथो तलाबाट खसेका थिए, जसका कारण उनको मस्तिष्कमा गम्भीर चोट लागेको थियो ।
त्यसयता उनी जीवनरक्षक उपकरणको सहायतामा ओछ्यानमै सीमित थिए । निको हुने आशा न्यून हुँदै गएपछि उनका अभिभावकले निष्क्रिय इच्छामृत्युको अनुमति माग्दै अदालत पुगेका थिए । मार्च ११ मा सर्वोच्च अदालतले ‘गरिमासहित मर्ने अधिकार’ प्रदान गर्दै यस्तो अनुमति दिएको थियो।
अदालतले १३ वर्षसम्म कुनै सुधार नदेखिएको उल्लेख गर्दै उपचार जारी राख्ने दायित्व समाप्त भएको बताएको थियो । अदालतको निर्देशनअनुसार, राणालाई गाजियाबादस्थित घरबाट एम्सको पालीएटिभ केयर युनिटमा सारिएको थियो। विशेषज्ञ चिकित्सकहरूको टोलीले उनको जीवनरक्षक उपचार क्रमशः हटाउने प्रक्रिया निगरानीमा सम्पन्न गरेको थियो ।
भारतमा निष्क्रिय इच्छामृत्यु सन् २०११ मा “अरुणा शानबाग बनाम भारत सरकार” मुद्दामार्फत कानुनी मान्यता पाएको थियो । शानबागको सन् २०१५ मा निधन भएको थियो ।
