रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताविरुद्धको रिट मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि रिट हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ । मंगलबार पनि सुनुवाइ नसकिएपछि बिहीबारका लागि अर्को सुनुवाइ तोकिएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय गरेकी थिइन् । त्यो निर्णय बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका हुन् ।

कास्कीको सूर्यदर्शन, रूपन्देहीको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी र पर्साको सानो पाइला सहकारीको मुद्दामा लामिछानेलाई ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा प्रतिवादी बनाइएको छ । महान्यायाधिवक्ता भण्डारीले पुस ३० गते मुद्दा फिर्ता लिन जिल्ला सरकारी वकिलको कार्यालयहरूलाई निर्देशन दिएकी थिएन् ।

निर्देशन अनुसार जिल्ला सरकारी वकिलले सम्बन्धित जिल्ला अदालतमा निवेदन पनि दिइसकेका छन्। तर जिल्ला अदालतले सर्वोच्चबाट यो रिटको टुंगो लागेपछि मात्रै निर्णय हुने आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *