ऊर्जा प्लान्टमा आक्रमण गरे होर्मुजको जलमार्ग पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

बीबीसी । राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुजको जलमार्ग पुनः खोल्न वा ठूलो अमेरिकी आक्रमणको सामना गर्न दिएको चेतावनीको कडा प्रतिक्रिया जनाएको छ । त्यसो नगरे इरानी ऊर्जा प्लान्टहरू ‘मेटाइदिने’ भनेर गत सप्ताहन्तको सुरुमा ट्रम्पले चेतावनी दिएकामा तेहरानले यदि ट्रम्पले धम्क्याएजसरी वाशिङ्टन अघि बढेमा उक्त समुद्री जलमार्ग पूर्ण रूपमा बन्द गरिदिने चेतावनी दिएको छ ।

एकजना वरिष्ठ इरानी कमान्डरले खाडी क्षेत्रभर रहेका ऊर्जा, तेल, प्रविधि र जलप्रशोधन केन्द्रहरूलाई आफ्नो वैध निशाना मानिने समेत बताए । एक्समा लेख्दै इरानी राष्ट्रपति मसूद पेजेश्कियानले इरान विरुद्धको अमेरिकी धम्कीले ‘हतास’ भएको देखाउने बताएका थिए ।

‘धम्की र आतङ्कले हाम्रो एकतालाई बलियो बनाउँछ। हाम्रो भूमि उल्लङ्घन गर्नेहरूबाहेक होर्मुजको जलमार्ग सबैका लागि खुला छ। हामी युद्धभूमिमा बेसुरका खतराहरूको दृढतापूर्वक सामना गर्छौं।’

ट्रम्पले दिएको उक्त अल्टिमेटम तेहरानको समय अनुसार २४ मार्चको बिहान ३ बजे सकिँदै छ । यसैबीच आइतबार अबेर भएको टेलिफोन वार्तामा ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मर र अमेरिकी राष्ट्रपति ट्रम्पले होर्मुजको जलमार्ग पुनः खोल्दै ‘विश्वव्यापी ढुवानी पुनः सुरु गर्न आवश्यक’ रहेकामा सहमति जनाएका छन्।

ट्रम्पले होर्मुज जलमार्ग नखुलाइए इरानका ऊर्जा केन्द्रहरू ‘सबैभन्दा ठूलोबाट सुरु गर्दै’ ध्वस्त पार्ने भनेका थिए। जवाफमा इस्लामिक रेभलूशनरी गार्ड कोर (आईआरजीसी)ले अमेरिकी आक्रमण भएमा ‘हाम्रा ध्वस्त पावर प्लान्टहरू पुनर्निर्माण नभएसम्म’ स्ट्रेट पुनः नखोलिने जनाएको छ ।

अमेरिका र इजरायलले पछिल्लो हमला सुरु गरेयता इरानले उक्त जलमार्ग प्रभावकारी रूपमा अवरुद्ध गरेको छ । विश्वव्यापी तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा ढुवानी हुने उक्त जलमार्गमा यतिखेर सीमित पानीजहाजलाई मात्र अनुमति दिइएको छ ।

सामान्यतः हरेक महिना करिब ३,००० पानीजहाजहरू होर्मुजको जलमार्ग हुँदै यात्रा गर्छन् । तर इरानले ट्याङ्कर र अन्य पानीजहाजहरूमा आक्रमण गर्ने धम्की दिइरहँदा पछिल्ला सातामा उक्त सङ्ख्या नाटकीय रूपमा घटेको छ ।

एएफपी समाचार संस्थाको १८ मार्चको तथ्याङ्क अनुसार युद्ध सुरु भएदेखि कम्तिमा २१ वटा जहाजहरूमा प्रहार वा निशानामा पारिएका वा आक्रमण गरिएका विवरण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *