अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री कियर स्टार्मरबीच टेलिफोन वार्ता भएको छ । वार्तामा मध्यपूर्वमा चर्किँदै गएको द्वन्द्व र होर्मुज जलडमरूमध्य तत्काल पुनः खोल्ने विषयमा सहमति भएको जनाइएको छ ।
डाउनिङ स्ट्रिटका अनुसार दुवै नेताले विश्वव्यापी ढुवानी सुचारु गर्न र ऊर्जा बजारमा स्थिरता कायम गर्न जलडमरूमध्य खुला हुनु अत्यावश्यक रहेको बताएका छन् । उनीहरूबीच छिट्टै पुनः वार्ता गर्ने सहमति समेत भएको छ । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानी लक्ष्यहरूमा संयुक्त आक्रमण गरेपछि इरानले उक्त रणनीतिक समुद्री मार्ग अवरुद्ध गरेको थियो ।
त्यसपछि सुरु भएको प्रतिकार अहिले व्यापक क्षेत्रीय द्वन्द्वमा रूपान्तरण भइसकेको छ । यसैबीच, ट्रम्पले मार्च २१ मा इरानलाई ४८ घण्टाभित्र जलडमरूमध्य खोल्न अल्टिमेटम दिएका थिए। अन्यथा इरानको ऊर्जा संरचनामाथि आक्रमण हुन सक्ने चेतावनी उनले दिएका छन् ।
ट्रम्प–स्टार्मर वार्ताले यसअघि तनावपूर्ण रहेको दुई नेताबीचको सम्बन्धमा सुधारको संकेत गरेको विश्लेषण गरिएको छ।
