४८ घण्टाभित्र होर्मुज नाका नखोले इरानका विद्युत केन्द्रमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभि समुन्द्री जलमार्ग होर्मुज पूर्ण रूपमा खोल्न चेतावनी दिँदै त्यसो नगरे इरानका प्रमुख विद्युत केन्द्रहरूमा आक्रमण गर्ने धम्की दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भने, ‘यदि इरानले ४८ घण्टाभित्र होर्मुज जलडमरू पूर्ण रूपमा खोल्दैन भने अमेरिका उनीहरूको विभिन्न विद्युत् केन्द्रहरू—सबैभन्दा ठूलोबाट सुरु गर्दै—नष्ट गर्नेछ।’

यो चेतावनीसँगै इरानमा नागरिक जीवनसँग प्रत्यक्ष सम्बन्धित ऊर्जा पूर्वाधारमा अमेरिकी आक्रमण विस्तार हुन सक्ने संकेत देखिएको छ।
इरानी आक्रमणको जोखिमका कारण अधिकांश जहाजहरू होर्मुज जलडमरू पार गर्न सकिरहेका छैनन् । विश्वको करिब पाँचौं हिस्सा तेल तथा तरल प्राकृतिक ग्यास आपूर्ति हुने यो जलमार्ग अवरुद्ध हुँदा विश्व ऊर्जा बजारमा ठूलो असर पर्ने देखिएको छ। गत साता युरोपमा ग्यास मूल्य ३५ प्रतिशतसम्म बढेको थियो।

यसैबीच, इरानको खातम अल अन्वियाले चेतावनी दिँदै अमेरिकाले इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गरे अमेरिकी ऊर्जा, सूचना प्रविधि तथा पानी प्रशोधन संरचनाहरू निशाना बनाइने जनाएको छ।

गत साता इरानले इजरायलको आक्रमणको जवाफस्वरूप कतारस्थित रास लाफानमा प्रहार गरेको थियो। उक्त आक्रमणबाट विश्वको ठूलो हिस्सा ग्यास प्रशोधन हुने केन्द्रमा क्षति पुगेको र मर्मतमा वर्षौं लाग्ने बताइएको छ ।

द्वन्द्व थप चर्किँदै जाँदा इजरायली पक्षले इरानले पहिलोपटक लामो दूरीका क्षेप्यास्त्र प्रयोग गरेको जनाएको छ। इजरायली सैन्य प्रमुखका अनुसार इरानले हिन्द महासागरस्थित डिएगो गार्सियामा ४,००० किलोमिटर दूरीका मिसाइल प्रहार गरेको छ । युद्धमा हालसम्म २,००० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने इजरायलमा मात्रै १५ जनाको ज्यान गएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *