-सुरेश आचार्य
राप्रपा हार्नुका धेरै कारण छन् । अब हरूवा पार्टीले छिट्टै प्रदेश सरकारमा सहभागी भएर आफ्नो बचेखुचेको अस्तित्व पनि समाप्त पार्ने चिन्ता पलाएको छ । ६ महिना सासंद नरहे पनि मन्त्री बन्न पाइने टेको टेकेर ‘हरूवा’ लाई राहत प्रदान गर्ने रे । कोसी प्रदेशका प्रत्यक्ष निर्वाचित सांसद तथा राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले राजीनामा दिदैं प्रतिनिधि सभा झापा ४ मा राप्रपाको उम्मेदबार बन्ने टिकट लिई–दिई चूनावमा उठाइयो ।
कोसी प्रदेश सभाको उनको हुँदा–खाँदाको पद त गयो नै. प्रतिनिधि सभाको चूनावमा समेत “जमानत जफत“ भयो । उनी कसको आदेशमा पार्टी अनुशासन र स्वीकृति बेगर चूनावमा उठेका हुन् ? उनलाई कसले चूनाव उठ्ने टिकट दिएको हो? भक्तिजी multiple post हरू पाउने राप्रपाका एकमात्र उम्दा भाग्यमानी व्यक्ति हुनुहुन्छ ।
यस पटक पनि चूनाव उठेर भक्तिजीले प्राणवायू फुस्किन लागेको राप्रपालाई घाटमै पुर्याएर अन्तरध्वंसी (saboter) को खिताब पनि पाउनु भयो । कांग्रेसबाट राप्रपामा प्रवेश गराएका भक्तिले लिङ्देनजीको भक्ति गर्नु मात्र ठूलो कुरो होइन ।
उहाँको त्यही लिङ्देन–भक्तिले एकैपटक कोसी प्रदेश सांसद, प्रदेश संसदीय दलका नेता, कोसी प्रदेश मन्त्री (त्यहीबेला बागमती प्रदेशका राप्रपाका उद्धव थापासमेत लाई जबरजस्ती मन्त्री छोड्न लगाइयो) मात्रै हो र ? भक्तिको शक्ति नभए– पार्टीको केन्द्रीय सदस्य, केन्द्रीय कार्य सम्पादन समितिको सदस्य, केन्द्रीय अनुशासन समिति सदस्य र पार्टीको केन्द्रीय प्रवक्तासम्म एकैपटक त्यसै बन्छन् ? जबकी, पार्टी अध्यक्षको ‘आमाको रगत’वाला नारा बाहेक अर्को नारा पनि थियो । धेरैले त्यो चाहिँ बिर्से होलान्, त्यो हो– ‘एक व्यक्ति एक पद’ । तर भक्तिभाव गर्ने मान्छे भेट्टाएपछि यस्ता नारा हावामै उठेर कुइरीमण्डलमा लुक्दो रहेछ ।
उहॉले पार्टी अनुशासन समितिको सदस्य रहेर पटक–पटक आफैँले पार्टीको विधान र अनुशासन तोड्नु भयो । अब कहॉ फिराद गर्नजाने ? पशुपतिले सुन्दैन, घाममा ग्रहण लाग्या छ, हिलोको कमल हिलोबाट बाहिर निस्किने, कहिले हो कहिले ?
यो कुराले के संकेत गर्छ भने पार्टीमा कुनै गुणात्मकता छैन । यथार्थ पनि यही नै हो । पार्टी दोहोरो मापदण्डमा चलिरहेको छ ! विश्वासको ठूलो संकट छ । राप्रपाको सिद्धान्त र ब्यवहार विरोधासपूर्ण छ । छैन भन्ने कुनै आधार छैन । एउटै दृष्टान्त काफी छ, त्यो हो– ‘संघीय गणतन्त्रलाई सुदृढ गर्ने’ घोषित पॉचदलीय सहमति पत्रमा अध्यक्ष लिङ्देनजीले ‘सहीछाप’ (बाहुली निसाना) गरी गणतान्त्रिक सरकारमा ३४ दिने मन्त्री हुनुभयो ।
त्यसैको परिणाम हो, फागुन २१ को मध्यावधि चूनाव र बीचमा भएका उपचुनावहरूमा राप्रपाको “जमानत जफत“ को फेसन शो । फागुन २१ मा राप्रपाका ‘चुनावी स्टार क्याम्पेनरहरू’ को को थिए ? उनीहरूले राप्रपा उम्मेदवारलाई जिताउने क्याम्पेन गरेका थिए कि हराउने क्याम्पेन ? ९७% को जमानत जफत हुनुको जिम्मेवारी अब कसले लिने ?
मैले पहिल्ये नै यी कुरामा विरोध नजनाएर गल्ती गरेछु, जसको प्रायस्चित गर्नै पर्छ, यदि पहिल्यै विरोध गरेको भए शायद केन्द्रीय सदस्यभन्दा थप अरू खिताबहरू पनि थपिँदैगएर आफ्नै भारले म थिचिने रहेछु । यस मानेमा “फेक“ पत्रलाई सही मान्दा राप्रपाका मेरा सबै जिम्मेबारीहरूबाट मुक्त भएको छु ।
राप्रपाले अब नियमित महाधिवेशन पर्खिने होइन कि, तत्कालै गगन थापाले जस्तो विशेष महाधिवेशन बोलाउने विद्यमान पदाधिकारीहरूमा साहस छ ? नेता हुनु त गगन जस्तो ! सफल रूपमा विशेष महाधिवेशन गराए, चूनावमा गए तर दूर्भाग्य आफैँ चुनाव हारे ! अनि, चुनावमा पराजयको “नैतिक जिम्मेवारी“ लिँदै राजीनामा दिए । चुनाव हार्ने राप्रपा र नेपाली काँग्रेसको तुलनात्मक परीक्षण गर्ने हो भने राप्रपाले भन्दा नेपाली कांग्रेसले शानदारसँग हारेको छ ।
