नेपाली मूलका नागरिकलाई नेपाली पहिचान दिन माग

काठमाडौँ । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्न र नेपालीको पहिचानसहितको परिचयपत्रको व्यवस्था गर्न माग गरेको छ ।

परराष्ट्रमन्त्री बालानन्द शर्मालाई मंगलबार भेटेर एएनओको प्रतिनिधिमण्डलले सो माग गरेको हो । एएनओका अन्तरराष्ट्रिय अध्यक्ष डिल्ली अधिकारी, उपाध्याक्ष सुशील पन्त, महासचिव चूडामणि भट्टराई, नेपाल च्याप्टरका अध्यक्ष कृष्णप्रसाद सापकोटा लगायतको प्रतिनिधिमण्डलले मन्त्री शर्मालाई उक्त मागपत्र बुझाएको हो ।

सो पत्रमा पुस्तौँदेखि विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिकलाई परिचय पत्रको व्यवस्था गर्न एवं त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन कक्षमा ‘नेपाली ओरिजन’ का लागि छुट्टै डेस्क राख्न पनि माग गरिएको छ ।

साथै पूर्वी नेपालका विभिन्न शिविरमा बाँकी रहेका झण्डै सात हजारको सङ्ख्याका भुटानी शरणार्थीको मानवअधिकारको रक्षा गरी मानवीय दृष्टिकोणबाट उचित व्यवस्थापन गर्न माग गरिएको एएनओले विज्ञप्तिमार्फत जनाएको छ ।

त्यस अवसरमा मन्त्री शर्माले एएनओका मागहरु नेपालकै पहिचानको विस्तारलाई सघाउने प्रकृतिका रहेकाले यसलाई नेपाल सरकारले गम्भीर रुपमा लिने धारणा राखे । उनले आफू सैनिक सेवामा रहँदा पुस्तौँअघि बाहिरिएका नेपाली मूलका मानिसहरु भेट्ने अवसर पाएको अनुभव सुनाउँदै उनीहरुलाई पुर्ख्यौली देशसँग जोड्ने सार्थक अभियान अघि बढ्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *