पेरिस । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) का सदस्य राष्ट्रहरुले आवश्यक परेमा थप तेल मौज्दात प्रवाह जारी गर्न सक्ने आइइएका कार्यकारी निर्देशक फातिह बिरोलले बताएका छन् ।
भिडियोमार्फत् सार्वजनिक एक सन्देशमा बिरोलले भने, ‘सरकारी दायित्वमा राखिएको सरकार र उद्योग स्टक हालको थप इन्धन प्रवाहपछि पनि १.४ अर्ब ब्यारेल भन्दा बढी हुनेछ । इन्धनको पछिल्लो अतिरिक्त प्रवाहपछिसदस्य राष्ट्रहरूको सञ्चिति लगभग २० प्रतिशतले मात्र घट्नेछ।’
मार्च ११ मा ३२ सदस्य देशहरूले सर्वसम्मतिले मध्यपूर्व द्वन्द्वका कारण उत्पन्न अवरोधहरूको कारण उनीहरूको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा उपलब्ध गराउन सहमत भएका थिए ।
‘अहिले अफलाइन तेल आपूर्तिको मात्रा पहिले नै सन् १९७३ को तेल सङ्कटको समयमा भएको आपूर्ति घाटाभन्दा बढी छ, र त्यसबेलादेखि हामीले देखेका कुनै पनि प्रमुख अवरोधहरू भन्दा बढी छ,’ बिरोलले भने ।
