‘ग्लोबल मनी विक–२०२६’ सुरु

काठमाडौँ । ‘स्मार्ट मनि टक्स’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२६’ आजदेखि सुरु भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने यस अभियानको यो चौधौँ संस्करण हो ।

अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा आयोजित कार्यक्रमको उद्घाटन सत्रमा काठमाडौँका विभिन्न विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत करिब पाँच सय विद्यार्थी सहभागी भएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले पैसा कमाउने, बचत र त्यसको सदुपयोग गर्ने विषयमा परिवारका सदस्यलाई शिक्षित गर्नु आवश्यक रहेको बताए । उनले जुनसुकै पेसामा आबद्ध व्यक्तिका लागि पैसा महत्त्वपूर्ण हुने भएकाले यसको उचित व्यवस्थापन र सदुपयोगमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै गभर्नरको कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पङ्गेनीले विद्यालयस्तरदेखि नै पैसाको उचित व्यवस्थापनबारे विद्यार्थीलाई शिक्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । यस्ता कार्यक्रमले वित्तीय साक्षरता र वित्तीय समावेशिता अभिवृद्धिमा सहयोग पु¥याउने अपेक्षा गरिएको बताए ।

कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारी, बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, सहकारी विभागका उप–रजिष्ट्रार शशीकुमार लम्साल तथा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले आ–आफ्ना संस्थाको कार्यक्षेत्र र गतिविधिबारे जानकारी दिएका थिए ।

नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका कामु निर्देशक शिखा अधिकारी रेग्मीले समूहगत छलफलको सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागी विद्यार्थीबीच वित्तीय साक्षरतासम्बन्धी हाजिरीजवाफ प्रतियोगितासमेत आयोजना गरिएको थियो ।

यही चैत ८ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत देशभर वित्तीय सचेतना अभिवृद्धि गर्ने कार्यक्रम आयोजना गरिने त्यस अवसरमा जानकारी दिइयो । बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनी तथा सम्बन्धित निकायले युवालक्षित वित्तीय सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

यस्तै, बैंकिङ तथा वित्तीय सेवा, पुँजीबजार, बिमा र सहकारीसम्बन्धी विषयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रिया, प्रतियोगिता, श्रव्यदृश्य सामग्री प्रसारण तथा वित्तीय सेवाप्रदायक संस्थाको अवलोकन भ्रमणजस्ता कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।

‘ग्लोबल मनी विक’ किशोर–किशोरी तथा युवामा वित्तीय शिक्षाप्रति जागरण ल्याउने उद्देश्यले विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको छ । सन् २०१२ देखि अन्तरराष्ट्रियस्तरमा सञ्चालन हुँदै आएको यस अभियानलाई नेपाल राष्ट्र बैंकले सन् २०१३ देखि राष्ट्रिय संयोजकका रूपमा रही नेपालमा मनाउँदै आएको छ । यस अभियानबाट हालसम्म विश्वका १७६ देशका सात करोडभन्दा बढी बालबालिका र युवा लाभान्वित भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *