इन्धन जहाजलाई सुरक्षा दिन विश्व शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिहरूलाई खाडीको ‘स्ट्रेट अफ हर्मुज’ बाट तेल ट्याङ्करहरू पार गराउन र विश्व बजारमा इन्धन आपूर्ति नियमित गर्न सघाउन गरेको आग्रहपछि इरानले थप देशहरूलाई अमेरिका र इजरायलसँगको युद्धमा संलग्न नहुन चेतावनी दिएको छ।

इरानले अमेरिका–इजरायल अभियानको प्रतिक्रिया दिँदै खाडीको प्रमुख तेल र ग्यास निर्यातकर्ताहरूलाई विश्व बजारसँग जोड्ने जलमार्ग हुँदै इन्धन ढुवानी गर्ने जहाजलाई आवतजावतमा रोक लगाएपछि विश्वभरि ऊर्जाको मूल्य बढेको छ।

राष्ट्रपति ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायत र अन्य देशलाई ‘इस्कर्र्ट ट्याङ्कर’ मा जहाज पठाउन आग्रह गरेका थिए भने अमेरिकी सेनाले ‘स्ट्रेट अफ हर्मुज’को उत्तरी तटमा रहेको इरानी इलाकामा ड्रोन र क्षेप्यास्त्र प्रक्षेपण स्थलहरूमा , आक्रमण जारी राखेको थियो ।

उनले सूचीबद्ध गरेका देशहरूले अहिलेसम्म यस विचारलाई सावधानीपूर्वक स्वागत गरेका छन् । यसैबीच, इरानका विदेशमन्त्री अराघचीले फ्रान्सेली समकक्षी जाँ–नोएल ब्यारोँसँग फोनमा उनीहरूलाई ‘द्वन्द्व बढाउन र विस्तार गर्न सक्ने कुनै पनि कार्यबाट टाढा रहन’ चेतावनी दिए ।

बेलायतको रक्षा मन्त्रालयले कुनै प्रतिबद्धता जनाएको छैन । “हामीले पहिले नै भनेका छौँ, हामी हाल हाम्रा सहयोगी र साझेदारहरूसँग यस क्षेत्रमा ढुवानीको सुरक्षा सुनिश्चित गर्न विभिन्न विकल्पहरूमा छलफल गरिरहेका छौँ,” उसले भनेको छ ।

बेलायतका ऊर्जा सुरक्षा मन्त्री एड मिलिब्यान्डले बीबीसीसँग भनेका छन्, “अब द्वन्द्व कम गर्ने योजना हुनुपर्छ । हामी हाम्रा सहयोगीहरूसँग कुरा गरिरहेका छौँ। त्यहाँ समुद्री ढुवानी सम्भव बनाउने विभिन्न उपायहरू छन् ।”

दक्षिण कोरियाले सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पको टिप्पणीलाई नजिकबनयालिरहेको बताएको छ भने जापानी प्रधानमन्त्री साने ताकाइचीको सत्तारुढ पार्टीका नीति प्रमुख ताकायुकी कोबायाशीले विद्यमान कानुनअनुसार उक्त क्षेत्रमा जापानी जलसेनाका जहाज पठाउने प्रतिबन्ध ‘अत्यन्त उच्च’ भएको बताए ।

इरानले महत्त्वपूर्ण समुद्री मार्ग बन्द गरेपछि र खाडी छिमेकीहरूमा ऊर्जा र ढुवानी उद्योगको लक्ष्यमा आक्रमण गरेपछि इन्धनको मूल्य विश्वव्यापीरूपमा ४० प्रतिशतले बढेको छ। इरानी सर्वोच्च नेताको हत्या गरेको अमेरिका र इजरायलको हवाई अभियानको बदलामा यो आक्रमण गरिएको थियो र क्षेत्रीय मध्यपूर्व युद्ध सुरु भएको थियो।

विश्व बजारमा उतारचढावको क्रममा ट्रम्पले एनबीसी न्यूजलाई सप्ताहन्तमा दिएको अन्तर्वार्तामा तेहरान टेबलमा आउन इच्छुक रहेको तर अमेरिकाले अझ राम्रो सर्तहरू लागू गर्न लड्ने बताएका थिए ।
उनले इरानको तेल केन्द्र खार्ग टापुमा फेरि पनि ‘रमाइलोका लागि’ बम प्रहार गर्न सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *