रोएटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग आइल्याण्डमा थप आक्रमण हुन सक्ने चेतावनी दिएका छन् । साथै उनले महत्वपूर्ण समुद्री मार्ग हर्मुजको सुरक्षा सुनिश्चित गर्न सहयोगी राष्ट्रहरूलाई युद्धपोत पठाउन आग्रह गरेका छन् ।
तेहरानले भने आफ्नो प्रतिक्रिया अझ कडा बनाउने चेतावनी दिएको छ । ट्रम्पले अमेरिकी आक्रमणले खार्ग टापुको अधिकांश संरचना ‘पूर्ण रूपमा ध्वस्त’ बनाएको दाबी गरे।
उनले आवश्यक परे थप आक्रमण गर्न सकिने बताए । यद्यपि उनले तेहरान वार्ताबाट द्वन्द्व अन्त्य गर्न इच्छुक देखिए पनि हाल प्रस्तावित सर्तहरू पर्याप्त नभएको उल्लेख गरे । यस टिप्पणीले ट्रम्पको अघिल्लो भनाइभन्दा कडा संकेत दिएको छ।
यसअघि उनले अमेरिकी आक्रमण खार्ग टापुका सैन्य संरचनामा मात्र केन्द्रित भएको बताएका थिए । यता मध्यपूर्वका केही सहयोगी राष्ट्रहरूले युद्ध अन्त्यका लागि वार्ता सुरु गर्ने प्रयास गरे पनि ट्रम्प प्रशासनले ती प्रस्ताव अस्वीकार गरेको स्रोतहरूले बताएका छन् ।
तेहरानसँग रहेको अर्को महत्वपूर्ण विकल्प भनेको हर्मुजबाट हुने जहाज आवागमन रोक्नु हो । यो मार्ग विश्वका तेल तथा ग्यास आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। युद्धका कारण तेल आपूर्तिमा ठूलो अवरोध देखिँदा ऊर्जा मूल्य बढिरहेको छ।
