होर्मुज जलडमरूमध्य अवरुद्ध रहे खार्ग टापुको तेल पूर्वाधारमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

रोएटर्स । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्लेले इरानले होर्मुज जलडमरूमा जहाज आवागमनमा अवरोध जारी राखे खार्ग आइल्याण्डस्थित तेल पूर्वाधारमा आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् ।

यस्तो कदमले पहिले नै आपूर्ति संकटको असर भोगिरहेको विश्व ऊर्जा बजारलाई थप अस्थिर बनाउन सक्ने अनुमान गरिएको छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकाले खार्ग टापुका केही सैन्य लक्ष्यहरू ‘पूर्ण रूपमा ध्वस्त पारेको’ दाबी गरेका छन्। उक्त टापु इरानको करिब ९० प्रतिशत तेल निर्यात हुने मुख्य केन्द्र हो, जुन होर्मुज जलडमरूमध्यबाट करिब ३०० माइल उत्तर–पश्चिममा अवस्थित छ । यद्यपि उनले अमेरिकी आक्रमणले टापुको तेल पूर्वाधारलाई लक्षित नगरेको स्पष्ट पारेका छन्।

‘यदि इरान वा अरू कसैले होर्मुज जलडमरूमध्यबाट जहाजहरूको स्वतन्त्र र सुरक्षित आवागमनमा अवरोध पुर्याउने प्रयास गरेमा म तुरुन्तै यो निर्णय पुनर्विचार गर्नेछु,’ ट्रम्पले लेखेका छन्।

ट्रम्पले इरानसँग अमेरिकी आक्रमणको सामना गर्ने क्षमता नभएको दाबी गर्दै इरानी सेना र सरकारसँग सम्बन्धित पक्षहरूलाई हतियार त्याग्न चेतावनी दिएका छन् ।

यसबीच इरानका सशस्त्र बलले आफ्नो देशको तेल तथा ऊर्जा पूर्वाधारमाथि आक्रमण भए त्यसको प्रतिउत्तरस्वरूप अमेरिकासँग सहकार्य गर्ने तेल कम्पनीका संरचनामाथि क्षेत्रमै आक्रमण गरिने चेतावनी दिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानको फार्स समाचार एजेन्सीका अनुसार अमेरिकी आक्रमणका क्रममा खार्ग टापुमा १५ भन्दा बढी विस्फोटको आवाज सुनिएको थियो। ती आक्रमणले हवाई प्रतिरक्षा प्रणाली, नौसैनिक आधार र विमानस्थल संरचनालाई लक्षित गरे पनि तेल पूर्वाधारमा क्षति पुगेको छैन।

विश्व बजारले खार्ग टापुमा रहेका पाइपलाइन, टर्मिनल र भण्डारण ट्याङ्कीहरूको नेटवर्कमा कुनै क्षति पुगेको छ कि छैन भन्ने विषयलाई नजिकबाट नियालिरहेको छ। सानो अवरोधले पनि विश्व तेल आपूर्तिमा थप दबाब सिर्जना गर्न सक्ने विश्लेषकहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *