नेपाल भाषाका संरक्षणकर्ता प्रजापतिलाई सुदर्शन–कोपिला पुरस्कार

मोरङ । नेपाल भाषा, संस्कृति, कला साहित्यमा महत्त्वपूर्ण योगदान दिने भक्तपुर मध्यपुर थिमी निवासी गणेशराम लाछी प्रजापतिलाई दुई लाख राशिको सुदर्शन–कोपिला सिरपा–११४६ बाट सम्मान गरिएको छ ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले झी पुचः (नेपाल भाषा तथा सांस्कृतिक सङ्घ) विराटनगरले शुक्रबार आयोजित समारोहमा लाछि प्रजापतिलाई नगद एवं सम्मान पत्रद्वारा सम्मान गरे ।

सम्मानित हुने लाछी प्रजापतिले विगत पाँच दशकदेखि निरन्तर मुलुक तथा मुलुक बाहिर नेपाल भाषाको साहित्य, नाटक  र नेवाः परिकारको पहिचान कायम गर्न क्रियाशील हुँदै आएका छन् ।

सम्मानित व्यक्तित्व लाछि प्रजापतिले आजका युवा पुस्ताले नेपाल भाषाको संरक्षणका लागि आफ्नो घर परिवारमा यो भाषाको प्रयोग गर्नुपर्नेमा जोड दिए । अखिल भारत नेवाः सङ्घका केन्द्रीय अध्यक्ष सूर्यनारायण प्रधानले नेवार समुदायको घट्दो जनसङ्ख्याप्रति चिन्ता व्यक्त गर्दै जन्म दर वृद्धि गर्न आग्रह गरे ।

पुचःका अध्यक्ष सरद श्रेष्ठ, पुरस्कारका संस्थापक सुदर्शनबहादुर श्रेष्ठ, संस्थापक सदस्यद्वय राजन श्रेष्ठ दिनेश श्रेष्ठले पुचः यस क्षेत्रमा नेपाल भाषा, नेवार संस्कृतिको संरक्षणमा विगत ४५ वर्षदेखि क्रियाशील रहेको जानकारी दिए ।

पुरस्कार नेपाल भाषा, संस्कृति, साहित्य, परिकारमा योगदान पुर्याउने संस्था वा व्यक्तिलाई प्रदेक दुई÷दुई वर्षमा प्रदान गर्ने गरी विराटनगर–१० निवासी सुदर्शनबहादुर श्रेष्ठले विसं २०७६ मा  २० लाखको अक्षय कोषबाट स्थापना गर्नुभएको हो । आज अक्षय कोषमा थप पाँच लाख प्रदान गर्ने घोषणा गरे ।

यसअघि उक्त सम्मानबाट शताब्दी पुरुष सत्यमोहन जोशी, भारतको सिक्किमको नेवा गुुठी, पोखरास्थित नेवा खलः कास्कीलाई प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *