काठमाडौँ । नेपाल तरुण दलले सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिशा विकको हत्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक निर्दोष किशोरीमाथि गरिएको यस्तो क्रूर अपराधले समग्र समाजलाई स्तब्ध बनाएको भन्दै तरुण दलले आम नागरिकमा गहिरो आक्रोश पैदा भएको उल्लेख गरेको हो ।
घटनाले समाजको सुरक्षा अवस्था र राज्यको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ । तरुण दलले घटनामा संलग्न अपराधीहरूलाई तत्काल पक्राउ गरी निष्पक्ष र पारदर्शी अनुसन्धानमार्फत कानुनबमोजिम हदैसम्मको कडा कारबाही गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । त्यस्तै, पीडित परिवारलाई शीघ्र न्याय दिलाउन, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा आवश्यक सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा बस्दै आएकी १६ वर्षीया इनिशा उषा बालवाटिका स्कुल सुर्खेतमा ११ कक्षामा अध्ययनरत थिइन् । परिवारका अनुसार उनी शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । तर बिहान ९ बजेतिर स्थानीयले जनजागरण सामुदायिक वनमा अचेत अवस्था भेटिएकी थिइन् ।
उनलाई प्रहरीले प्रदेश अस्पताल सुर्खेत कालागाउँ पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकका आफन्तले यही फागुन २५ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएका थिए । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

