काठमाडौँमा खटिएका निर्वाचन प्रहरीको औपचारिक बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा खटिएका निर्वाचन प्रहरीको आज औपचारिक रुपमा बिदाइ गरिएको छ ।

प्रहरी वृत्त गौशाला, काठमाडौँद्वारा आज आयोजना गरिएको एक कार्यक्रमकाबीच औपचारिक रुपमा निर्वाचन प्रहरीको बिदाइ गरिएको हो । जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान गर्नुहुँदै उनीहरुको बिदाइ गरे ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक थापाले निर्वाचन अवधिभरी निर्वाचन प्रहरीले गरेका कामहरु सम्झनयोग्य रहेका बताए । उनले निर्वाचन अवधिभर निर्वाचन प्रहरीहरूले देखाएको अनुशासन, इमान्दारिता र समर्पण सराहनीय रहेको बताए । उनले निर्वाचन जस्तो संवेदनशील र महत्वपूर्ण प्रक्रियालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्वाचन प्रहरीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे ।

प्रहरी वृत्त गौशालाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रकाश सिरमलले निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरी कर्मचारीले अत्यन्त जिम्मेवार ढङ्गले आफ्नो कर्तव्य निर्वाह गरेको बताए । उनले निर्वाचन अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन सबैले सक्रियता र सजगता अपनाएको उल्लेख गरे ।

निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *