काठमाडौँ । निर्वाचनमा पार्टीको सर्मनाक पराजयपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बल्ल मुख खोलेका छन् । बिहीबार सामाजिक संजालमार्फत अध्यक्ष ओलीले हार स्वीकार गर्दै निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कमी नहुने बताए ।
उनले यस पटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने र त्यो फैसला शिरोधार्य गरेको स्पष्ट पारेका छन् ।
त्यस्तै उनले सूर्य चिन्हमा मतदान गरेर एमालेको पक्षमा उभिने सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘जनताको विश्वास नै हाम्रो शक्ति हो । तपाईंहरूको साथ नै हाम्रो ताकत हो । हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ ।’
पार्टी अध्यक्षले यस्तो बताएपछि एमालेका रुपन्देहीका नेता वासुदेव घिमिरेले ओलीप्रति व्यंग्य गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘पञ्चायत ढल्दै थियो, तर पञ्चहरूको रटान उही—‘सबै ठीक छ, महाराज।’
घिमिरेले निर्वाचनअघि सामाजिक संजालमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका थिए । तर पार्टी उपाध्यक्ष विष्णु पौडेललको आग्रहमा उनी फेरि एमालेमै जोडिएका थिए र उनी रुपन्देही ३ बाट रास्वपाका उम्मेदवार लेखजंग थापासँग पराजित भएका थिए ।
