निर्वाचनले राजनीतिक सुशासनको जग बलियो बनाएको छः गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएकोमा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमान्ड पोस्ट तथा ७७ वटै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

बुधबार भर्चुअल रूपमा आयोजित निर्वाचन समीक्षा बैठकमा गृहमन्त्रीले यो रक्तपातविहीन र ऐतिहासिक सफलता केन्द्रदेखि फिल्डसम्म खटिने सम्पूर्ण कर्मचारी तथा सुरक्षा निकायको साझा र सामूहिक प्रयासको प्रतिफल भएको बताए ।

यस ऐतिहासिक निर्वाचन पश्चात संविधानले सही बाटो समातेको र राजनीतिक सुशासनको जग बलियो भएको उनले बताए । बैठकमा सहभागी गृह सचिव लगायत विभिन्न तहका सुरक्षा पदाधिकारीहरूले असल नियतका साथ जिम्मेवारी पूरा गर्दा अन्तर्राष्ट्रिय पर्यवेक्षकबाट समेत उच्च प्रशंसा प्राप्त भएको र विगत ३० वर्षयताकै सबैभन्दा त्रुटिरहित निर्वाचन सम्पन्न भएको अनुभव साटेका थिए । साथै, सहभागीहरूले यस अभूतपूर्व सफलताका लागि गृहमन्त्रीको कुशल नेतृत्व र अभिभावकत्वको उच्च प्रशंसा समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *