निर्वाचनमा असफल भएका सुपात्रहरुले हारलाई जितमा परिणत गर्ने धैर्यता राख्नुपर्छ

-ईश्वर खतिवडा ।

१. म कुनै राजनीतिक खेलाडी होइन । मलाई चुनाव लड्नु पनि छैन, चुनाव जित्नु पनि छैन । तर राजनीतिको पदचाप सुन्ने, बुझ्ने र विश्लेषण गर्ने वौद्धिक प्रयास गर्ने गर्दछु । यही मेसोमा हालै निर्वाचित जनप्रतिनिधिहरुलाई वधाई तथा शुभकामना व्यक्त गर्दै यहाँ आफ्ना केही धारणा अगाडि सारेको छु।

२. मतपरिणाम अनुसार जनताले भ्रष्टाचार, बेथिति, कुशासन, स्वेच्छाचारिता र अहंकारको आसन मतपत्रको माध्यमबाट निर्ममतापूर्वक ढालिदिएको तथ्य प्रमाणित भएको छ । यो जनमतमा कसैको लोकपृयताको परिणाम भन्दा अरु कसैको अलोकपृयताको परिणाम धेरै जोडिएको छ । अर्को शव्दमा भन्दा यो मत परिणाम मानव मूल्य र प्रतिष्ठामा आधारित लोकतान्त्रिक सुशासनको माग पनि हो । यो परिणाम कुनै राजनीतिक वाद (ष्कm) को अनुमोदन वा स्वीकृति नभएर लामो समय शासन सत्तामा रहेकाहरुले गरेका बेथिति विरुद्धको जन–अभिमत हो। यसलाई आम जनताको दैनिन्दिनी कठिनाई वा समस्या समाधानका लागि रोजिएको उपलव्ध भएमध्येको एउटा विकल्प पनि भन्न सकिन्छ ।

३. अहिले निर्वाचनमा विजयी हुन नसकेका कतिपय पात्रहरु असल, निष्ठावान र भरोसायोग्य मानिस अवश्य पनि छन् । तर उनीहरुको संगत बेईमान, भ्रष्ट, स्वार्थी, असक्षम र खरावहरुसंग हुन पुग्यो । अदक्ष, खराव र कुलतमा फसेको ड्राईभरले चलाएको थोत्रो गाडीमा चढेर यात्रा गर्दा दुर्घटनामा पर्ने खतरा रहन्छ नै । असल पात्रहरुको अहिलेको नियति पनि त्यस्तै हो । दक्षिण अफ्रिकी जनताका महान, पृय र विश्वास पाएका नेता नेल्सन मण्डेला स्वेच्छाले शासन सत्ताबाट अलग भएका थिए । त्यसो गर्दा उनको कद घटेन, अझ उचो भयो । हाम्रा राजनीतिका खेलाडीहरु भने अनुचित आशक्तिको पछाडि दौडिएकै देखिन्छन् । राजशाही वा अधिनायक (म्ष्अतबतयच) हरुले मात्रै नमरुन्जेल पद वा गद्दीको दावी छाड्दैनन् । लोकतन्त्रमा कसैले पनि आफूलाई अपरिहार्य ठान्न नहुने थियो । निष्ठारहितको राजनीतिले सुखद् परिणाम दिदैन । तर हाम्रा राजनीतिमा लागेका पात्रहरुले त्यही गर्न नहुने कुरा गरे । अझ पनि गर्दैछन् । त्यसको परिणाम नकारात्मक बन्न गएको हो।

४. सुकर्म मुख्य कुरा हो । विश्वास र भरोसा कायम रहनु ठुलो कुरा हो। विश्वास गर्नु पर्नेले विश्वास राख्न छाडेपछि त्यस कुराको सन्देश बुझेर आफैँले स्वेच्छाले किनारा लाग्नु बुद्धिमानी हुने थियो । त्यस्ता किनारा लाग्नु पर्नेहरु आफैँ किनारा नलागेमा अरु सहयात्रीहरुले बाटो देखाई दिनु पर्दछ । सामान्य व्यापार प्रवद्र्धन गर्नका लागि पनि राम्रो, असल, आकर्षक कुरा अगाडि राखेर विज्ञापन गरिन्छ । जनताबाट तिरस्कृत र अस्वीकृत पात्रहरुलाई राजनीतिक मोर्चामा अगाडि राखेर सुखद् परिणाम हासिल हुँदैन । यस पक्षमा सवैले गम्भीर हुन आवश्यक छ ।

५. राजनीतिमा ‘कहिले हस्तिनापुरको रजाईँ, कहिले चपरी मुनीको बास’ हुन्छ भन्छन् । अहिलेको जनादेशको म्याद अधिकतम् (बढीमा) पाँच वर्ष मात्रै हो । यस अवधिमा हुने वा गरिने कर्मले त्यस पछिको राजनीतिक हैसियत निर्धारण गर्दछ । समय वलवान छ । बढीमा पाँच वर्ष पछि अर्को पाँच वर्ष अवधि पनि सुरु भैहाल्छ । समय छँदै प्राप्त अवसरको अधिकतम् सदुपयोग गर्न सकिएमा नै थप अवसरहरु प्राप्त हुन सक्तछन् ।

६. कसैले पनि आत्तिनु, मात्तिनु र पात्तिनु हुँदैन । एउटै माघले जाडो सिध्दिदैन । अहिले निर्वाचनमा असफल भएका तर सुपात्रहरुमा अहिलेको हारलाई जितमा परिणत गर्ने धैर्यतापूर्ण र सिर्जनशील विवेक कायम रहोस्, अनी निर्वाचनमा विजयी हुनेहरुमा दम्भ र अहङ्कार पैदा नहोस्, उन्माद नजागोस्, सुशासनको मार्गमा सिर्जनशील रुपमा अगाडि बढ्ने निष्ठा र हौसला अनवरत कायम रहोस्ः हार्दिक शुभकामना !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *