अमेरिका र इजरायलद्वारा इरानमाथि सबैभन्दा कडा बमबारी

रोएटर्स । संयुक्त राज्य अमेरिका र इजरायलले मंगलबार इरानमाथि युद्धकै सबैभन्दा तीव्र हवाई आक्रमण गरेका छन् । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) र इरानभित्रका स्रोतहरूले यसलाई हालसम्मको सबैभन्दा कडा बमबारी भएको बताएका छन्।

विश्व अर्थतन्त्रमा असर पर्ने चेतावनी दिँदै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी र इजरायली आक्रमण नरोके खाडी क्षेत्रबाट हुने तेल ढुवानी रोक्ने चेतावनी दिएको छ।

आईआरजीसीले मंगलबार साँझ कतारस्थित अमेरिकी सञ्चालनमा रहेको अल उदेद सैन्य अड्डा र इराकको कुर्दिस्तानस्थित अल हरिर अड्डामाथि क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । त्यसपछि संयुक्त अरब इमिरेट्सको अल धफ्रा हवाई अड्डा र बहराइनको जुफैर नौसैनिक अड्डामा अमेरिकी सैनिकलाई लक्षित गर्दै ड्रोन आक्रमण गरिएको बताइएको छ।

बुधबार बिहान इरानी सरकारी सञ्चारमाध्यमहरूले बहराइनस्थित अमेरिकी सैन्य प्रतिष्ठानहरूमा थप आक्रमण गरिएको जनाएका छन् । यसैबीच इरानले मध्य इजरायलतर्फ पनि क्षेप्यास्त्र प्रहार गरेको छ। हवाई प्रतिरक्षा प्रणालीले ती रकेट अवरोध गर्दा विस्फोटका आवाज सुनिएका थिए भने साइरन बजेसँगै सर्वसाधारण सुरक्षित स्थानतर्फ गएका थिए।

यसैबीच इजरायलले लेबनानको राजधानी बेरुतमा इरान समर्थित हिज्बुल्लाह समूहलाई लक्षित गर्दै थप हवाई आक्रमण गरेको जनाएको छ ।

ह्वाइट हाउसले होर्मुज जलडमरूमध्यबाट ऊर्जा आपूर्ति अवरुद्ध गर्ने प्रयास भए इरानमाथि कडा कदम चालिने चेतावनी दोहोर्याएको छ। विश्वको करिब पाँचौँ भाग तेल तथा तरल प्राकृतिक ग्यास यही मार्ग हुँदै आपूर्ति हुने भएकाले युद्धका कारण आपूर्ति प्रभावित भएको बताइएको छ।

अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले पेन्टागनमा पत्रकार सम्मेलन गर्दै इरानभित्र अझ तीव्र आक्रमण जारी रहने बताएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानका १० वटा ‘निष्क्रिय’ बारुद बिछ्याउने जहाज नष्ट गरिएको दाबी गरेका छन्।
तेहरानका बासिन्दाहरूले पछिल्लो बमबारीलाई युद्धकै सबैभन्दा भीषण रात भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *