अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारल तेलको मूल्य ९२.५० अमेरिकी डलरमा झर्यो

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध ‘निकै चाँडै’ समाप्त हुने बताएका छन् । तर उनले अमेरिकाले ‘पर्याप्त जित हासिल नगरेको’ र ‘अन्तिम विजय’ को लक्ष्य राखेको समेत बताए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन वार्ता गरेकै दिन ट्रम्पको इरान युद्ध अन्त्य सम्बन्धी भनाइ आएको छ। ट्रम्प पुटिन वार्तासम्म ८ अमेरिकी सेना मारिएको जानकारी सार्वजनिक भएको थियो ।

सीबीएस न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिका ‘तालिकाभन्दा निकै अगाडि’ रहेको बताए । अमेरिकी राष्ट्रपतिको उक्त टिप्पणीपछि मङ्गलवार एसियाको प्रारम्भिक कारोबारमा तेलको मूल्य घटेको छ।

सोमबार एक बिन्दुमा ती कारोबार प्रतिब्यारल ११५ अमेरिकी डलरसम्म पुगेका थिए । इरानले स्ट्रेट अफ हर्मुज भनिने जल क्षेत्रलाई अवरुद्ध गर्ने धम्की दिएको छ।

ट्रम्पले तेहरानलाई त्यसो गरेमा ‘मृत्यु, आगो र क्रोध’को चेतावनी दिएका छन् । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलरमा पुगेको छ। अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलरमा पुगेको छ ।

तर यस द्वन्द्वको सुरु हुनुअघि रहेको तुलनामा मूल्य अझै पनि करिब ३० प्रतिशतले बढ्ता छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमवार युद्ध ‘निकै चाँडै’ समाप्त हुने बताएपछि यस्तो गिरावट देखा परेको हो ।

प्रारम्भिक व्यापारमा तेलको मूल्यमा आएको गिरावटले एसियाली बजारहरूलाई प्रोत्साहन दिएको देखिन्छ । जापानको निक्केई २२५ सूचकाङ्क २.८ प्रतिशतले बढेको छ र दक्षिण कोरियाको कोस्पी एक्सचेन्ज ५ प्रतिशतभन्दा बढीले बढेको थियो ।

कैयौँ एसियाली देशहरू द्वन्द्व प्रभावित खाडी राज्यहरूका ठूला ग्राहक भएकाले तेलको मूल्यमा भएको वृद्धिसँगै एसियाली सूचकाङ्कहरूमा ठूलो धक्का परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *