मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता घोषित

तेहरान । इरानले मोज्तबा खामेनेईलाई देशको नयाँ सर्वोच्च नेता घोषणा गरेको छ। अमेरिका–इजरायल र इरानबीच जारी युद्धबीच यो निर्णय गरिएको हो ।

इरानको ८८ सदस्यीय धर्मगुरुहरूको निकाय ‘एक्स्पट्र्सको सभा’ले आइतबार मतदानमार्फत मोज्तबा खामेनेईलाई इस्लामिक गणतन्त्र इरानको तेस्रो सर्वोच्च नेता नियुक्त गरेको हो। तेहरान समयअनुसार मध्यरातपछि जारी विज्ञप्तिमा सभाले मोज्तबालाई आयतोल्लाह सैयद मोज्तबा होसेनी खामेनेईका रूपमा सर्वोच्च नेतामा चयन गरिएको जनाएको छ।

नयाँ सर्वोच्च नेताका रूपमा मोज्तबाले इरानका सबै राज्य मामिलामा अन्तिम निर्णय गर्ने अधिकार पाउनेछन्। उनी यसअघि आफ्ना पिता तथा पूर्व सर्वोच्च नेता अली खामेनेईको प्रभावशाली सञ्जालमार्फत सुरक्षा निकाय र व्यापारिक क्षेत्रमा प्रभावशाली व्यक्तिका रूपमा चिनिन्थे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको नयाँ नेतृत्व चयनप्रति असन्तुष्टि जनाएका छन्। उनले नयाँ सर्वोच्च नेता चयनमा अमेरिकाको पनि भूमिका हुनुपर्ने बताएका थिए।

यसअघि इजरायलले पनि जो कोही नयाँ सर्वोच्च नेता बने पनि उसलाई निशाना बनाइने चेतावनी दिएको थियो।

अमेरिका र इजरायलका आक्रमणमा कम्तीमा १ हजार ३ सय ३२ इरानी नागरिकको मृत्यु भएको र हजारौँ घाइते भएको इरानले जनाएको छ। यसैबीच इरानको प्रतिआक्रमणमा घाइते भएका थप एक अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी सेनाले पुष्टि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *